सीताराम चौधरी, कपिलवस्तु ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ बाहिनीका प्रमुख डीआईजी चिरन्जीवि अधिकारीले सकारात्मक सम्बन्धले समाजलाई सुरक्षित बनाउने बताउनुभएको छ ।
व्यापार संघ कपिलवस्तुले बिहिबार जिल्लाको चन्द्रौटामा आयोजित स्वागत कार्यक्रममा बोल्दै डीआईजी अधिकारीले यस्तो बताउनुभएको हो । समुदाय र प्रहरी एक सिक्काका दुई पाटा रहेको औल्याउँदै डीआईजी अधिकारीले समुदायबाट प्रहरी कहिल्यै अलग हुन नसक्ने उद्घोष गर्नुभयो । विगतका दिनहरुमा भएका कार्यबाट पाठ सिक्दै अवका दिनमा समाजमा शान्ति सुरक्षा र सद्भावका लागि आफू सधैं प्रतिबद्ध रहने डीआईजी अधिकारीले बताउनुभयो ।

शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले समृद्ध नगर निर्माणमा सुरक्षा सम्बेदनशिलता महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो । पछिल्लो समय यस क्षेत्रमा विगतका कुरालाई भुलेर भाइचाराको सम्बन्ध स्थापित भएको भन्दै बताउँदै विकास र समृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख अधिकारीले शान्ति सुरक्षामा विशेष ध्यान दिन सशस्त्र प्रहरी डीआइजी अधिकारीलाई आग्रह गर्नुभयो ।
अस्थायी रुपमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ५ बाहिनीलाई यस क्षेत्रमै स्थायी रुपमा स्थापित गर्न विशेष पहल गर्नुपर्ने व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो । हालै नं. ५ बाहिनीको पदभार सम्हालेका डीआईजी अधिकारीलाई स्वागत गर्दै व्यापार संघ अध्यक्ष पोखरेलले यस क्षेत्रको सम्बेदनशिलतालाई विशेष ख्याल गरी शान्ति सुव्यवस्था कायम गर्न आग्रह गर्नुभयो ।
स्वागत कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, मानवअधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया