रसुवा ।
विद्युत महसुल नतिर्ने ६ सरकारी कार्यलयसहित रसुवामा ४२ ग्राहक कालो सुचिमा परेका छन ।
नेपाल विद्युत प्राधिकरणका अनुसार कालो सूचीमा पर्नेमा छ वटा सरकारी कार्यालय सहित चारवटा निजी फर्म र ३२ जना व्यक्ति रहेको बताइएको छ । देश संघीयतामा जानुपूर्व रहेका साविकका गाविसले महसुल नतिरेको केन्द्र प्रमुख कृष्णहरि दाहालले बताए । तत्कालीन समयमा विद्युत महसुल नतिरेका गाविस कालो सूचीमा रहेको उनले बताए । उनले बाँकी महसुल स्थानीय तहले चुक्ता गर्नुपर्ने बताए ।
कालो सूचीमा पर्नेमा २ सय ६५ रुपयाँदेखि ६८ हजार ९ सय ३२ रुपयाँ नतिर्नेसम्म रहेका छन । तिनुपर्ने रकम ४२ ग्राहकबाट २ लाख २० हजार १ सय ५७ रुपयाँ रहेको नेपाल विद्युत्त प्राधिकरण रसुवाले बताएको छ । रसुवामा गत वर्ष विद्युत महसुल नतिर्ने २ सय ३४ ग्राहकको लाइन काटिएको थियो ।
यो आर्थिक वर्षमा २७ ग्राहकको लाइन काटिएको केन्द्रले जनाएको छ । गत वर्ष ९१ लाख २३ हजार रुपयाँ उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरण रसुवा शाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४÷७५ को पहिलो दुई महिनामा १६ लाख ३२ हजार बक्यौता उठेको छ । प्राधिकरणले अब ७४ लाख ८१ हजार उठाउन बाँकी रहेको छ ।
गत वर्ष २ सय २० वटा लाइन जोडिएको केन्द्रले जनाएको छ । रसुवामा मासिक रूपमा ९.०५ प्रतिशत विद्युत चुहावट भइरहेको प्राधिकरणले बताएको छ तर यसलाई नियन्त्रण गर्न भने सकिएको छैन । प्राधिकरणले दुई महिनासम्म विद्युत महसुल नतिर्ने ग्राहकको अस्थायी रूपमा लाइन काटिदिने गरेको छ । लाइन काटिएको ६ महिनासम्म पनि महसुल नबुझाएमा ग्राहकलाई कालो सूचीमा राख्ने गरिएको केन्द्र प्रमुख दाहालले बताए ।











प्रतिक्रिया