डिबालाको ह्याट्रिकमा युभेन्टसको जित


लन्डन, (एजेन्सी)
रातो कार्डका कारण क्रिस्टियानो रोनाल्डो मैदान नउत्रिएको खेलमा पाउलो डिबालाले ह्याट्रिक गर्दा युभेन्टसले च्याम्पियन्स लिग अन्तर्गत खेलमा जित हात पारेको छ ।

समुह ‘एच’ को मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्विस टोली योंग ब्वाइजलाई ३–० गोलले हराएको हो । इटालियन सिरि ए च्याम्पियनको जितमा अर्जेन्टिनी खेलाडी डिबालाले ह्याट्रिक गरेका थिए । यसअघि भ्यालेसिन्या विरुद्धको खेलमा रातो कार्ड पाएका रोनाल्डोले प्रतिबन्धका कारण खेलेका थिएनन् ।

खेलको पाँचौ मिनेटमा डिबालाले पहिलो गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । यसैगरी खेलको ३३ औं मिनेटमा डिबालाकै गोलमा युभेन्टसले अग्रता दोब्बर बनायो । पहिलो हाफ दुई गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप १ गोल ग¥यो । खेलको ६९ औं मिनेटमा डिबालाले ह्याट्रिक पुरा गर्दा युभेन्टसले अग्रता तेब्बर बनाएको थियो । खेलको ७८ औं मिनेटमा मोहमद कामारा दोहोरो पहेँदो कार्डको दर्शन गर्दै मैदान छोडेपछि योङ व्वाइज १० खेलाडीमा सिमित बनेको थियो ।

समुह चरणको पहिलो खेलमा भ्यालेन्सियालाई २–० ले हराएको युभेन्टस लगातार दोस्रो जित निकालेर ६ अंक जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ । योंग ब्वाइजको भने यो दोस्रो हार हो । योंग व्वाइजले पहिलो खेलमा आफनै घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग २–० को हार व्यहोरेको थियो । यसै समूहको अर्को खेलमा म्यानचेस्टर यूनाइटेड र भ्यालेन्सियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

मस्कोमा रियल स्तब्ध
च्याम्पियन्स लिग फुटबलका सर्वाधिक सफल डिफेन्डिंग च्याम्पियन रियल मेड्रिड रसियन क्लब सिएसकेए मस्कोसँग स्तब्ध भएको छ । समुह ‘जी’ अन्तर्गत मंगलबार राति अवे मैदानमा भएको खेलमा रियल १–० ले पराजित भएको हो ।

स्टार खेलाडी गेरेथ बेल, मार्सेलो, इस्को विना नै मैदान उत्रिएको रियलले पराजय भोग्नु परेको थियो । चोटका कारण स्टार खेलाडी गुमाएको रियल खेलको दोस्रो मिनेटमा नै निराश बन्न पुगेको थियो । टोनी क्रुसले दिएको ब्याक पासको फाइदा उठाउँदै मस्कोका निकोला भ्लासिसले निर्णायक गोल गरेका थिए । रियलले खेल अवधिभर गोलका लागि प्रयास गरेपनि सफल हुन सकेन ।

खेलको ९६ औं मिनेटमा इगोर केनफिभले रातो कार्ड पाएपछि मस्को १० खेलाडीमा सिमित बनेको थियो । रियलले समुह चरणको पहिलो खेलमा रोमालाई पराजित गर्दै तीन अंक जोडेको थियो । यसै समूहको अर्को खेलमा रोमाले भिक्टोरिया प्लेजनलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै ३ अंक जोडेको छ ।

सिटीको पुनरागमन
इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब होफेनहाइम विरुद्ध कठिन जित निकालेर च्याम्पियन्स लिगमा पुनरागमन गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत समुह ‘एफ’ को खेलमा सिटीले होफेनहाइमलाई २–१ गोलले हराएको थियो ।

अवे मैदानमा भएको खेलमा १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले जित दर्ता गरेको थियो । पहिलो खेलमा लियोनसँग हारेको सिटीको यो जितसँगै प्रतियोगितामा पुनरागमन भएको छ ।

सिटी खेलको पहिलो मिनेटमै पछि परेको थियो । होफेनहाइम इशाक बेलफोडीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिक्न सकेन । सातौं मिनेटमा सिटीका सर्जियो अग्यूरोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

सिटीले पटक–पटक गोलको प्रयास गरेपनि सफल हुन सकेन । जसका कारण विजयी गोलका लागि ८७ औं मिनेटसम्म पर्खनु प¥यो । सिटीका डेभिड सिल्भाले होफेनहाइमको डिबक्समा डिफेन्डसबाट बल खोसेर सुन्दर गोल गरेपछि सिटीको जित सम्भव भएको थियो । जितसँगै सिटीले तीन अंक जोडेको छ । यसै समूहको अर्को खेलमा शाख्तार डोनेत्स्क र लियोनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बेनेफिकाको जित
च्याम्पियन्स लिग अन्तर्गत समूह ई को खेलमा बेनेफिकाले एईके एथेन्सलाई ३–२ ले पराजित समूहमा पहिलो तीन अंक जोडेको छ । यसै समूहको अर्को खेलमा बायर्न म्यूनिख र आयाक्सले १–१ गोलको बराबरी खेल्दै समान अंक बाँडेका छन् ।

यो समूहमा दुई खेलबाट समान ४ अंक जोडे पनि गोल भिन्नताको आधारमा आयाक्स पहिलो र बायर्न दोस्रो स्थानमा रहेको छ ।