दुई तिहाईको सरकार हरेक मोर्चामा असफल


नेपाल समाचारपत्र, राजविराज
राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान दुई तिहाईको सरकार हरेक मोर्चामा असफल भएको आरोप लगाउँदै चाडपर्व सकिए लगत्तै सडक र सदनवाट आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

वुधवार सदरमुकाम राजविराजमा राजपाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथीको आसनवाट वोल्दै उनले सो चेतावनी दिएका हुन् । ‘दुई तिहाईको वर्तमान सरकारवाट जनताले धेरै आशा र आकांक्षा राखेका थिए’ उनले भने ‘तर सवै आशा र आकांक्षा अहिले निराशामा परिवर्तन भएको छ ।’

संविधान संशोधन गर्ने सहमतिमा वर्तमान सरकारसँग मित्रता गाँस्दै राजपाले समर्थन दिएको चर्चा गर्दै उनले मित्रता कायम राख्ने वा तोडने दुवै विषय वर्तमान सरकारको नेतृत्वकर्ताको हातमा रहेको वताए ।

संविधान संशोधन गर्ने सवालमा ६ महिना वितिसक्दा पनि वर्तमान सरकारले कुनै गम्भिरता नदेखाएकोमा आक्रोश ब्यक्त गरेका उनले आगामी सोमवार संविधान संशोधन, प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई सपथ ग्रहण, वढ्दो महंगी, हत्या हिन्सा, वलात्कार, कालोवजारी र झुठा मुद्दा फिर्ता लगायतका विषय समेटेर देशैभर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउने तयारी गरिएको जानकारी दिए ।

‘त्यसपछि पनि हाम्रो माग उपर सुनुवाई नगरीए दशै तिहार र छठ पर्व सकिए लगत्तै सडक र सदन दुवै मोर्चावाट आन्दोलन सुरु हुन्छ’ – उनको चेतावनी थियो ।

‘चाडपर्व सकिएलगत्तै सडक र सदनवाट आन्दोलन’

उनले आन्दोलन सुरु भए लगत्तै सरकारलाई दिएको समर्थन पनि स्वतः फिर्ता हुने स्पष्ट पारे । उनले नेपालगंजमा फोरम अध्यक्ष उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा राम मनोहर यादवलाई हिरासतमा लिई यातना दिएर हत्या गरिएको तथा कंचनपुरकी निर्मला पन्त वलात्कार र हत्याको घटनामा संलग्नलाई वचाउन प्रहरीले नै जानीजानी प्रमाण नष्ट गरी रक्षक नै भक्षक वनेको उदाहरण प्रस्तुत गरेको वताए ।

देशमा विगत ६ वटा संविधान आएर ईतिहाँसमा विलिन भएको स्मरण गराउँदै उनले भने– वर्तमान सरकारको रवैया यस्तै रहे सातौ संविधानको पनि त्यस्तै हविगत हुनेछ ।

‘मधेश आन्दोलन चर्किएका वेला गोली चलाएर संविधान लादियो’ उनले भने ‘तर अहिले पनि संविधान संशोधन गरी सुधार नगरीए फेरी पनि त्यस्तो अवस्था नहोला भन्न सकिन्न ।’ उनले दुई तिहाईको सरकारले संविधान संशोधन गर्ला ठानेर समर्थन गरेको जनाउँदै अहिले हिन्दि उखान ‘खोदा पहाड निक्ला चुहा’ जस्तै हाल भएको र सरकारले नै आन्दोलनमा जान वाध्य पारिरहेको वताए ।
उनले राजपाको राष्ट्यि महाधिवेशन आगामी वैशाख ७, ८ र ९ गते हुने जानकारी पनि दिए ।

प्रदेश २ मा फोरम–राजपा गठवन्धन सरकारको निरन्तरता वारे पत्रकारको जिज्ञासाको जवाफमा उनले भने ‘अहिलेसम्मको गतिविधि सन्तोषजनक छैन । यद्यपी मधेशी जनताको चाहना यहि गठवन्धनको सरकार कायम रहोस भन्ने रहेकाले हालसम्म देखिएका कमी कमजोरी सच्याई प्रभावकारी ढंगले गठवन्धन सरकार अघि वढाउन प्रयास थालिएको छ ।’