बुटवलमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी


यमलाल भुसाल, बुटवल
प्रदेश ५ को राजधानी बुटवलमा बुधवार प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेकोे प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शान्ति सुरक्षा कायम राख्न सबै सुरक्षा निकायले जनतासंग जोडिएर काम गर्नुपर्नेमा जोड दिनु भयो ।

जनतासंग जोडिएर काम नगर्ने, जनताको विश्वास नजित्ने सुरक्षा निकायले प्रभावकारी काम गर्न नसक्ने ठोकुवा गर्दै मुख्य मन्त्री पोखरेलले जनतासंगको सम्बन्ध जीवन्त बनाउन सुझाव दिनु भयो ।

नेपाली सेना लगायत नेपालका सुरक्षा निकायहरुलाई राष्ट्रिय सुरक्षाका लागि कुनै विदेशीसंग युद्ध लड्न पर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले राष्ट निर्माणको राष्ट्रिय मनोविज्ञान तयार गर्ने काम गर्नुपर्ने धारणा राख्नु भयो ।
सुरक्षाको विषय स्थानीय, प्रदेश र संघको भनेर छुट्याउन नमिल्ने भन्दै कन्चनपुर घटनाले सिंगो देशमा तरंग ल्याएको उदाहरण मुख्यमन्त्री पोखरेलले दिनु भयो । अपराधी पहिचान हुन समय लाग्नसक्ने तर नागरिकले अनुसन्धानमा सुरक्षा निकायले उपेक्षा गरेको महसुस गरे त्यहां अविश्वास र समस्या पैदा हुने मुख्यमन्त्रीपोखरेलको कथन थियो ।

कन्चनपुर घटनामा अनुसन्धानमा हेलचेक्राई देखिएकाले सुरक्षा निकायप्रति आक्रोश पैदा भएको उदाहरण दिंदै अनुसन्धानमा इमान्दारिता देखाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिनु भयो । कतिपय अवस्थामा घटना र अनुसन्धानलाई प्रभावित पार्न अपराधीहरुको पनि घुसपैठ हुने भन्दै मुख्यमन्त्रीले उनीहरुलाई समयमै पहिचान गर्नुपर्नेमा जोड दिनु भयो ।

सूचना प्रविधि र सञ्चारका कारण समाज धेरै खुला भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले कन्चनपुर घटनाबाट पाठ सिकेर आफ्ना कार्यसम्पादनलाई जवाफदेहितापुर्ण,वैज्ञानिक र पारदर्शी बनाउन पनि सुरक्षा निकायलाई निर्देशन दिनु भयो ।

जनतासँगको सम्बन्ध जीवन्त बनाउन मुख्य मन्त्रीको निदेशन

मुख्यमन्त्री पोखरेलले कतिपय राजनीतिक दलहरुले अझै पनि अधिकारको लडाई टुंगिएको छैन भनेर जनतालाई उत्तेजित बनाउने काम गरिरहेको बताउनु भयो ।

संविधानले सबै वर्ग, समुदाय, क्षेत्रका जनतालाई अधिकार सम्पन्न बनाइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले कतिपय दलले जनतामा भ्रम छरेर उत्तेजित बनाउने काम गरिरहेको बताउनु भयो ।

मुख्यमन्त्री पोखरेलले कुनै दलको नाम नलिई अझै पनि अधिकारको लडाई बांकी छ भन्दै हिंड्नु गलत निश्कर्ष भएको दावी गर्नु भयो ।
संविधानमा केही कमी भए संविधानबाटै समाधान गर्न सकिने तर्क गर्दै संविधान बाहिरबाट निकास ननिस्कने स्पष्ट पार्नु भयो ।

संविधान सभाबाटै राजतन्त्रलाई अन्त्य गरी गणतन्त्र ल्याएर असम्भवलाई सम्भव बनाएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले हरेक समस्याको समाधान संविधान भित्रैबाट खोजिनुपर्नेमा जोड दिनु भयो ।

शान्ति सुरक्षाको विषय वहुआयामिक रहेको भन्दै उहाँले अपराध नियन्त्रणलाई मात्र नबुझ्न आग्रह गर्नु भयो । शान्ति सुरक्षा सुशासनसंग पनि प्रत्यक्ष जोडिएको विषय भएकाले संगठित शक्ति (सिण्डिकेट), डन संस्कृति आदिका माध्यमबाट कानुनलाई हातमा लिन खोज्नेहरु,असंवैधानिक र काननु विपरित काम गर्नेहरुलाई कडाईका साथ निरुत्साहित गर्नुपर्नेमा जोड दिनु भयो ।

गोष्ठीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. मानबहादुर विकेले प्रदेश भित्रको शान्ति सुरक्षा कसरी सबल र सक्षम बनाउने भन्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउनु भयो ।

गोष्ठीमा प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी प्रमुख,राष्ट्रिय अनुसन्धान प्रमुख,सशस्त्र प्रहरी प्रमुख र नेपाली सेनाका पृतनापतिको सहभागी रहेको थियो ।

१२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, चुनौति, समस्याको समाधान र महिला हिंसा,सवारी दुर्घटना,लागु औषध नियन्त्रण,चोरी निकासी नियन्त्रणमा गरिएका उपायहरुबारे जानकारी गराउनु भएको थियो ।

यस्तै प्रदेश ५ ट्राफिक कार्यालयले प्रदेशको ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनिकरणको प्रयास,चुनौति र योजना, राष्ट्रिय अनुसन्धान निर्देशकबाट सूचना संकलन तथा वितरणको अवस्था,प्रदेश प्रहरी प्रमुख शेर बहादुर बस्नेतबाट प्रदेश ५ को समष्ठीगत सुरक्षा अवस्था र योजनाको बारेमा जानकारी गराएका थिए ।

आन्तरिक मामिला तथा काननु मन्त्रालयका सचिवले विकेले विपद व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय कार्यक्रमको तयारीबारे जानकारी गराउनु भएको थियो ।