निर्मला हत्या प्रकरणलाई राजनीतीकरण गरियो:  गृहमन्त्री


नेपाल समाचारपत्र, चितवन
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतीकरण गरिएको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले बुधबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरेको भए पनि घटनालाई राजनीतिकरण गरेर अफवाह फैलाइएको बताए । ९५ प्रतिशत हिंसाका घटनामा संलग्न अपराधीहरु कानुनी कठघरामा आएको भन्दै उनले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही भएरै छाड्ने दाबी गरे । ‘निर्मला जस्ता सयौं बलात्कार भएका छन्, उनले भने, अपराधी कसैले पनि उन्मुक्ति पाँउदैन्,बाँकी रहेका २र४ प्रतिशतलाई छिट्टै कानुनी कठघरामा ल्याउँछौं ।’

घटना लगत्तै उच्चस्तरीय छानबिन समिति गठन गरेर घटनाको अनुसन्धान भएको भन्दै गृहमन्त्री थापाले समितिको प्रतिवेदनको निष्कर्षलाई आधार मानेर झन् गहिराइका साथ अनुसन्धान गरिरहेको बताए । छानबिन समितिको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने गृहमन्त्री थापाको भनाइ छ ।

घरेलु हिंसा बढ्नुको प्रमुख कारण मदिरा, ड्रग्सलगायतका लागूपदार्थ भएको भन्दै उनले मदिराको नियमन र नियन्त्रण गरिने बताए । उनले मदिरा सेवन र बिक्रीवितरणलाई कडा बनाइने जानकारी दिए ।

अपराधिक क्रियाकलापमा युवाहरु शिकार भएको भन्दै उनले युवालाई अग्रणी भूमिकामा राखेर चेतनामूलक कार्यक्रम गरिने बताए । थापाले देशका ३६ हजार स्कूल क्याम्पस र सात हजार वडामा घरेलु हिंसा विरुद्धको अभियान चलाइने जानकारी दिए । भ्रष्ट्राचार, गुण्डागर्दी र अपराध नियन्त्रणमा सरकारले प्रथामिकताका साथ काम गरिरहेको गृहमन्त्री थापाले उल्लेख गरे ।

सरकारले विकासका लागि आवश्यक पूर्वाधार निर्माणसम्बन्धी काममा महत्वपूर्ण उपलब्धी हाँसिल गरेको भन्दै उनले चीनसँगको पारवहन सम्झौता र भारतसँगको जल, रेल र यातायातसम्बन्धी महत्वपूर्ण सम्झौता भएको बताए । सरकारले चन्दा आतंक, अपराध, सिन्डिकेट र भ्रष्टचार अन्त्य गर्न कडा कदम चालेको थापाले दाबी गरे । उनले तस्करहरु निस्तेज पारेको र राजस्वमा उल्लेख्य वृद्धि भएको जीकिर गरे । सरकार कडाइका साथ प्रस्तुत भएका कारण गुण्डाहरु भूमिगत भएको उनको भनाइ छ । अर्काे प्रसंगमा गृहमन्त्री थापाले वर्तमान सरकारका कारण ३३ किलो मात्र नभई तीन हजार तीन सय बढी किलो सुन तस्कर गर्नेहरुको सञ्जाल ध्वस्त बनेको दाबी गरे ।

यस्तै बुधवार नै चितवनको भरतपुरमा लागु औषध निषेश, मदिरा नियन्त्रण, र महिला तथा बालबालिका हिंसा न्यूनिकरण सम्वन्धि सचेतना एवम् अन्र्तक्रिया कार्यक्रममा बोल्दै तस्कर, दलाल, भष्ट्र, गुण्डागर्दीका विरुद्धमा मन्त्रालयले मिसन चलाएकोले अहिले मन्त्रालयकै विरुद्धमा घेरावन्दी गर्न थालिएको टिप्पणी गरे । मन्त्री थापाले जनता माथि यो वा त्यो नाममा दुःख दिने, अपराध गर्ने, देश लुट्ने तत्वहरुको सञ्जाल र उनीहरुको पेशामा सरकारले हमला गरेकोले त्यस्ता प्रवृतिहरु मन्त्रालयका विरुद्ध लाग्न थालेको बताए ।

गृहमन्त्री थापाले नेपाली जनताका सदियौं देखिका दुस्मनहरुको एकएक पहिचान गर्दै सरकार तिनीहरुका विरुद्ध जनताका पक्षमा लागिरहेको बताए । लागु औंषध र मदिराका कारण महिला र बालवालिका माथि हिसाजन्य घटना बढिरहेका बेला गृहमन्त्रीसहित ३ वटैं सुरक्षा अंगका प्रमुखहरु यसको नियन्त्रणका विषयमा अन्र्तक्रियामा जुटे थिए । सो कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीसँग साँठगाँठ गर्ने कुनै पनि प्रहरीको भविश्य नभएको बताए ।

नेपालमा भएका बलात्कारका घटनामा २४ प्रतिशत घर बाहिरका मान्छेले र ७६ प्रतिशत आफन्त,नातागोता वा नजिकको मान्छेबाट हुने गरेको महानिरीक्षक खनालले बताए । १० हजार प्रहरीलाई हत्याहिंसा न्यूनिकरणका लागि प्रशिक्षकका रुपमा तालिम दिई सामाजिक संघसंस्थाहरुमा पठाउने जानकारी महानिरीक्षक खनालले दिए ।