रुपन्देहीमा दुई लाख बढी माछा मरे


बुटवल, (नेस)
माछा उत्पादनका लागि हर्वका रुपमा स्थापित रुपन्देहीको छपियामा पोखरीमा पालिएका दुई लाख भन्दा बढी माछा अज्ञात रोगका कारण मरेका छन् ।

खासगरी सिल्भर जातका माछा बढी मरेका छन् भने नैनी जातका माछा पनि मरेका छन् । मत्स्य विकास कार्यालयका प्राविधिकले स्थलगत अध्ययन गर्दा पनि माछा मर्नुको कारण पत्ता लगाउन नसकेपछि माछापालक किसान चिन्तित बनेका छन् । प्राविधिक टोलीले अज्ञात रोगले माछा मरेको निष्कर्ष निकालेर केन्द्रमा पठाएको छ । माछापालनमा देशमै ख्याति कमाएको छपिया क्षेत्रको छपिया, गैडहवा,सुर्यपुरा लगायतका गाउंमा व्यवसायिकरुपमा पालिएका सिल्भर जातका माछा करिव दुई सातादेखि लगातार मरेपनि कारण पत्ता लाग्न सकेको छैन ।

हालसम्म कति माछा मरे भन्ने यकिन तथ्यांक आइनसकेपनि दुई लाख भन्दा बढी संख्यामा माछा मरेको अनुमान गरिएको छ । रुपन्देहीको सबैभन्दा ठुलो ८३ बिगाहाको गैडहवा तालमा पालिएका करिव ७० हजार सिल्भर जातका माछा मरेको माछापालक किसान शैलेन्द्र कुमार पासीले बताउनु भयो । भदौ २५ गतेदेखि २९ गतेसम्म ६० हजार माछा मरेकोमा पछिल्लो ४ दिनदेखि १० हजार माछा मरेको उहाँको कथन छ ।

छपियाको आरसीएएस कृषि फर्मका सञ्चालक रमेशचन्द्र मुराउले ७ बिगाहामा पालेका विभिन्न जातका २० क्वीन्टल माछा मरेको बताउनु भयो । मरेका सबै माछाको जिब्रो कुहिएको र पखेटा कमजोर भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण मत्स्य परियोजना जोनका अधिकृत रमेश जैसवालले यस्तो खालको समस्या जिल्लामा अहिलेसम्म नदेखिएकाले आफूहरु पनि अचम्म परेको बताउनु भयो । किसानहरुले पानी परीक्षण गराएपनि समस्या पहिचान हुन नसकेको जैसवालले बताउनु भयो ।

किसानहरुले गर्मीका कारण अक्सिजनको कमी भएर माछा मरेको आशंका गरेपनि पुष्टि भएको छैन । माछा मरेपछि बिमा गरेका किसानले बिमा कम्पनीहरुसंग विमा दावी गर्दा विमा कम्पनीले वास्ता नगरेको गुनासो गरेका छन् । तर अधिकांश किसानले वीमा गराएका छैनन् । रुपन्देहीमा १ हजार १ सय २० हेक्टर क्षेत्रफलमा बार्षिक ५ हजार ५ सय मेट्रिक टन माछा उत्पादन हुने गर्दछ ।