ढल्केवरलाई राजधानी नबनाईए अनशन बस्ने चेतावनी


कठमाडौ । ढल्केवरलाई प्रदेश नम्बर दुईको राजधानी नबनाए अशन बस्ने चेतावनी यहाँका नागरीक समाजले दिएका छन् । प्रधानमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै उनिहरुले अनशन बस्ने चेतावनी दिएका हुन् । नागरिक समाजका अगुवाहरुको नेतृत्वमा गएको टोलीले इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

मिथिला नगरपालिका–७ का वडा अध्यक्ष युवराज उप्रेति , सञ्चारकर्मी विजयकुमार साह र नागरिक अगुवा मेघबाहादुर सेञ्चुरीद्वारा संयुक्त रुपमा हस्ताक्षरीत ज्ञापनपत्रमा प्रदेश २ को राजधानीका लागि ढल्केवर सवै किसिमले उपयुक्त रहेको दाबी गरिएको छ ।

पूर्व मेचिदेखि पश्चिम महाकालिसम्मको मात्र नभएर प्रदेश २ को पर्सादेखि सप्तरी तथा हाल प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरको समेत संगमस्थलको रुपमा परिचत ढल्केवर राजधानीको लागि उपर्युक्त भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यस प्रदेशका जनताका लागि सहज कामकाज र आवत–जावतका लागि सवारी साधन सहज रुपमा उपलब्ध हुने भएकाले पनि ढल्केवरलाई राजधानी बनाउन उपयुक्त हुने बिज्ञप्तीमा जनाईएको छ ।

प्रदेश नम्बर दुईको पश्चिमी बेल्टमा रहेको विरगंजलाई राजधानी बनाउँदा पूर्वी बेल्टका जनतालाई अपायक पर्छ भने प्रदेशको दक्षिणी बेल्टमा रहेको जनकपुर पनि राजधानीका लागि उपयुक्त देखिन्दैन ।

राजबिराज र सिरहाको लहान पनि पूर्वी बेल्टमा पर्ने भएकोले राजधानी उचित छैन् । तसर्थ ढल्केवर प्रदेश २ को राजधानी सही र उपयुक्त रहेको यसलाई राजधानी घोषणा नगरिए आमरन अनशन बस्ने चेतावनी ज्ञापनपत्र मार्फत दिईएको छ ।