४लाख बराबरको अवैध सामाग्री बरामद


काठमाडौं,(नेस) । झापाको मेचीनगर नगरपालिका ६ बाट एपीएफ टोलीले करीब ४ लाख १० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका सामाग्रीहरु बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मरिच र किराना सामानहरु सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरको हो ।

एपीएफ टोलीले बरामद सामाग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

यसैगरी कपिलवस्तु जिल्लाको यसोधा गाँउपालिका ८ खोरियाबाट असोज १७ गते एपीएफ टोलीले करीब दुई लाख रुपैयाँ बराबरको बोइलर कुखुराको चल्ला बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट खुनुवाबाट सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेलको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त चल्ला बरामद गरेको हो ।

भारतबाट अवैध रुपले तीन वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको चल्ला तथा उक्त साईकल बरामद गरेको हो ।