३३ केजी सुन काण्डमा मुछिएका प्रहरी अधिकृत काममा फर्कदै


काठमाडौ । बहुचर्चित साँढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३ जना बहालवाला प्रहरी अधिकारीको निलम्वन फुकुवा भएको छ ।

मुलुक नै हल्लाउने गरी छानवीन गरिएको सुन काण्डमा मुछिएका एसएसपी दिवेस लोहनी, एसपी बिकासराज खनाल र डिएसपी प्रजित केसीलाई बिराटनगर उच्च अदालतले साधारण तारेखमा रिहा गरेपछि गृह सचिव प्रेम राईले उनीहरुको निलम्वन फुकुवा गर्नु भएको हो ।

उक्त काण्डमा संलग्न रहेको भन्दै छानवीन समितिले पक्राउ गरी कारवाही गर्न निर्देशन दिएपछि गत बैशाख १६ गते उनीहरुलाई गृह मन्त्रालयले निलम्वन गर्न प्रहरी प्रधान कार्यालयलाइृ निर्देशन दिएको थियो । उच्च अदालत बिराटनगरले उनीहरुलाई साधारण तारेखमा छोड्ने आदेश दिएपछि उनीहरुले काममा पुन फर्किन पाउ भन्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए । उनीहरुको निवेदन गृह मन्त्रालयमा पुगेपछि मन्त्रालयले निलम्वन फुकुवा गरेपछि उनीहरूलाई काममा फर्किने बाटो खुलेको छ ।

“निलम्वन फुकुवाको निर्णय भइसकेको छ, यसको व्यहोरा प्रहरी प्रधान कार्यालय पुगेपछि उहाँहरु नियमित काममा फर्किर्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

सुन खानेजी काण्डमा संलग्न रहेका उनीहरुलाई जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान र संगठीत अपराध मुद्दामा कारवाहीकालागि मुद्धा दायर गरिएको थियो ।

निलम्वनमा पर्नुअघि एसएसपी लोहनी महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख र डिएसपी केसी पनि महाशाखामै कार्यरत रहेका थिए भने एसपी खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत थिए ।

तस्करीबाट भित्रिएको ३३ केजी सुन हराएपछि २०७४ फागुन १८ गते सुन तस्करका मूख्य नाइके चुडामणी उप्रेती सहितको समूहले उर्लाबारीको जंगलमा लगेर शाक्यको हत्या गरेको थियो । उक्त हत्यालाई ढाकछोप गर्न प्रहरीकै अधिकारीको मिलेमतो रहेको दावी समितिले गरेको थियो ।