राजधानी विरुद्ध समाचार लेखेको भन्दै अत्तरीयामा राष्ट्रिय पत्रिकाहरु जलाईए


मनोज भट्ट, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि राष्ट्रिय पत्रिकाहरुले गोदावरीका विरुद्ध समाचार लेखेको भन्दै बुधवार विहानै पत्रिका जलाईएका छन । नेपालगञ्जबाट सुदूरपश्चिम प्रदेशमा ल्याउने क्रममा बुधवार विहानै कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपुर्ण पोष्ट पत्रिका अत्तरीयाका युवाहरुले गाडीबाट जवरजस्ती निकालेर जलाएका हुन ।

कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपुर्ण पोष्ट सवै पत्रिका जलाईएका हुन । गत शुक्रवार संसदको दुई तिहाई बहुमतले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेपछि राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाले जङगल मासेर राजधानी बनाउदा पर्यावरणमा गम्भीर असर पुग्ने, चुरे क्षेत्र खतरामा, बाघको बाटोमा राजधानी लगायतका शिर्षक दिएर समाचार लेख्दै आएका छन । समाचार लेखेको भन्दै पत्रिका जलाईनु निन्दनिय भएको भन्दै उक्त कार्यको विरोध हुन थालेको छ ।

सुदूरपश्चिम प्रदेश पत्रकार महासंघले पत्रिका जलाईनु निन्दनीय कार्य भएको जनाएको छ । महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहले भने, ‘यो कार्य अत्यन्तै निन्दनिय हो । पत्रिका जलाउनेलाई कडा कारवाही हुनुपर्छ ।’ ‘राजधानी कहाँ हुनुपर्छ भन्ने हाम्रो सरोकारको विषय हैन । त्यसले फाईदा घाटा के गर्छ । वातावरणमा कस्तो असर पार्छ भन्ने मुख्य सरोकारको विषय हो ।’ कान्तिपुर दैनिक प्रदेश व्यरोमा कार्यरत शाहले भने, ‘समाचारप्रति चित्त बझुने अन्य कानुनी बाटो हुदा हुदै प्रेसमाथिको आक्रमण क्षम्य हुदैन ।’