प्रहरी र प्रशासनको छड्के अनुगमन


शालिकराम चालिसे, नुवाकोट
सार्वजनिक यातायातमा न्युनतम मापदण्डको समेत पालना नगरेको गुनासो बढेपछि नुवाकोट प्रशासन र प्रहरीले सार्वजनिक यातायातका साधनमा छड्के अनुगमन गर्न सुरु गरेको छ ।

यातायातका साधनहरुले यात्रुहरुलाई विभिन्न तवरबाट ठग्ने गरेको गुनासो पछि जिल्ला ट्राफिक प्रहरी कार्यलयले जिल्लामा सञ्चालित यातायातका साधनहरुमा अनुगमन गर्न सुरु गरेको हो । अनुगमन गर्ने क्रममा टोलीले गाडीमा भाडा दर टाँस गरे÷नगरेको, राज्यले सुरक्षित गरेको महिला–अपाङ्ग तथा बृद्धको लागि छुट्टाइएको आरक्षण सिट कार्यान्वयनको अबस्था, गाडीको संरचना, बाल मजदुरको प्रयोग, गाडीको क्षमता अनुसारको प्रयोग, यात्रुहरुलाई गाडीका कर्मचारीले गर्ने व्यवहार लगायतको बारेमा अनुगमन गरेको हो ।

अनुगमनमा नुवाकोटमा सञ्चालित गाडीहरु यात्रुमैत्री नपाइएको जिल्ला ट्राफिक प्रहरी नुवाकोटका प्रमुख शम्भु अधिकारीले बताएका छन । प्रमुख अधिकारीका अनुसार क्षमताभन्दा धेरै यात्रुहरु चढाउने,गाडीहरुले भाडादर सबैले देख्ने स्थानमा नटासेको, अपाङ्गता, महिला तथा अशक्त यात्रुको लागि राज्यले नै सुरक्षित गरेको आरक्षण कोटा सदुपयोग, बालश्रमिकको प्रयोग लगायतका मापदण्ड पालना नगरेको पाइकाले सचेत गराइएको छ ।

सार्वजनिक यातायातका साधनहरुले मापदण्डमा नआएको भन्दै नुवाकोट प्रहरी र प्रशासनले यातायात व्यवसायीहरुलाई यातायातको व्यवस्था सुधार गर्न निुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले निर्देशन दिएका छन । नियमित रुपमा भैरहेको चेकजाँचलाई ब्यबस्थित बनाउदै बिभिन्न स्थानहरुमा छड्के चेकिङको समेत सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले चाडपर्बको समयमा दुर्घटना न्युनिकरण र होहल्ला हुन नदिनको लागी सुरक्षा रणनिति नै सार्बजानिक गरेर चेकिङ सुरु गरेको हो ।

नुवाकोट प्रहरीले सार्बजानिक गरेको सुरक्षा रणनितिमा ठुलो मात्रामा धनरासिको प्रयोग हुने जुवातास नखेल्न, मादक पदार्थ सेबन नगर्न, सबारी साधनको सिट क्षमता अनुसार मात्रै यात्रुहरु चढाउन, मानब अधिकार हनन् हुन नदिनको लागी सबैलाई सचेत रहन लगायतको बिषयहरु राखेर रणनिति तयार पारेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहारलगायत नजिकिएका चाडपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा योजना लागू गरेको छ ।

चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाइ लागू गरेको हो । चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको र यसअन्तर्गत दुर्घटना रोकथाम, यात्रुका गुनासाको सुनुवाइ र यात्रु तथा सवारी साधनलाई सुरक्षा दिने प्रहरीको योजना छ । दशैँमा सडकमा यात्रुको अत्याधिक चाप हुने भएकाले चालकले लामो समय सम्म सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्नेजस्ता कारणले दुर्घटनाको सम्भावना बढी हुने गरेको छ । यात्रुको चापको बाहना बनाएर बढी भाडा असुल्ने समस्या आउन नदिन प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले मातहतमा रहेका सबै प्रहरी युनिटहरुलाई सबारी चेकजाँचमा ध्यान दिन निर्देशन जारी गरेको छ ।