सीताराम चौधरी, कञ्चनपुर ।
युवा व्यवसायी देवराज दाहाल, उमेरले भर्खर ३४ बसन्तमा पाइला टेकेका । अहिले उनी एक कम्पनीका प्रबन्ध निर्देशकका साथै कम्पनी संचालक पनि हुन् । दाहाल कपिलवस्तुको शिवराज नगरपालिका ८, जवाभारीस्थित बृद्धि डिष्टिलरी प्रा.लि. का संचालकका साथै प्रबन्ध निर्देशक हुन् ।
अध्ययनपछि जागिरे जीवनबाट अनुभव सँगालेका उनी अहिले कम्पनीकै मालिक बन्न सफल छन् । उनी भन्छन् –“तन, मन र धन भए मानिसलाई कहिल्यै पछि पर्नुपर्दैन ।” लामो संघर्षबाट अनुभव बटुलेर यहाँसम्म आइपुगेका दाहाल आफ्नै व्यवसायमा व्यस्त छन् । हरेकसँग सजिलै घुलमिल हुनसक्ने उनको बानी छ । स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनी जिज्ञासु, निडर, लगनशील, जोसिला र फूर्तिला पनि छन् । सधैं नयाँ नयाँ योजना बुन्न रुचाउँछन् उनी । आफ्नो व्यवसायसँगै उनले निकट भविष्यमा अन्य व्यवसाय संचालन गर्र्ने योजना समेत बुनेको बताउँछन् ।
अध्ययनपछि कामको खोजीमा भौतारिंदै उनी भवानी डिष्टिलरीमा पुगे । डिष्टिलरीमै म्यानेजरको जागिरबाट ९ वर्षको अनुभव सँगालेको बताउँछन् दाहाल । आफूले सिकेको सीपको प्रयोग गरी अहिले उनी आफ्नै पैmक्ट्री संचालन गरेका छन् । फैक्ट्रीकै कामले उनलाई यतिबेला भ्याईनभ्याई छ । उनको फैक्ट्रीमा ४५ जनाले रोजगारी समेत पाएका छन् । तर उनी अन्य सरह आफू पनि सधैं काममा व्यस्त रहन्छन् । फैक्ट्रीमा झकास, जेन एक्स्ट्रा ड्राई, चियर्स, स्पेशल नं. १, टेन्सन फ्रि, ब्लु आइरिस, धर्नाली सौफ, अप्सरा, जम्बो जस्ता नामका मदिरा उत्पादन हुँदै आएको छ । कामदारहरुकै मिहिनेतले फैक्ट्री संचालन भइरहेको उनको बुझाई छ । उनी कामदारलाई अन्नदाता सम्झन्छन् । कामदारहरुकै कारण फैक्ट्री चलेको बताउँदै उनी कामदारमाथि सधैं विश्वास राख्ने गरेको बताउँछन् ।
विदेशिने युवाहरुलाई चुनौति दिँदै उनी यतिबेला उदाहरणीय बनेका छन् । आफ्नै फैक्ट्रीमा मासिक सरदर डेढ करोड सम्मको कारोबार हुने गरेको उनको भनाई छ । मिहिनेत गरे धन कमाउनकै लागि विदेश धाउनु पर्दैन –उनी भन्छन् । यतिबेला उनी नयाँ व्यवसायको योजना बुन्दैछन् । आगामी दिनमा दुग्ध प्रशोधन केन्द्र र तेलको उत्पादन संचालन गर्ने योजनामा छन् ।
स्थायी घर बाग्मती अञ्चलको बनेपा ११, धनेशवर काभ्रेपलाञ्चोक भएपनि उनी कपिलवस्तुमा विगत आधा दशकदेखि आफ्नै व्यवसायमा व्यस्त छन् । शिवराज नपा ८, जवाभारीस्थित वृद्धि डिस्टिलरी वि.सं. २०७२ मा शाहबाट खरीद गरी दाहालले आफ्नो निजी बनाएका छन् । उनी यसलाई आधुनिकीकरण गर्दै लैजाने र अन्य व्यवसायलाई समेत सँगसँगै अगाडि बढाउने बताउँछन् ।
च्यासिङखर्क गाविस ३, हाल बेथानचोक जन्मेका देवराजले एस.एल.सी.सम्मको अध्ययन जन्मथलोमै पूरा गरेका थिए । उच्च शिक्षा भने उनले हालको स्थायी ठेगानामा पूरा गरेको बताउँछन् । सामाजिक क्षेत्रमा पनि सधैं चासो दिने दाहाल २०६७ सालदेखि हिमाल बचत तथा ऋण सहकारी संस्था बनेपाको अध्यक्ष समेत रहँदै आएका छन् । यसबाहेक उनी विभिन्न संघ संस्थामा आबद्ध भई सामाजिक कार्यमा पहिचान बनाएका छन् । देवराज दाहालको परिवारमा एक श्रीमती, १३ वर्षीय एक छोरा र ७ वर्षीय एक छोरी छन् । बुवाआमा पनि हुनुहुन्छ तर भाइसँग बस्नुभएको छ – उनले बताए ।











प्रतिक्रिया