ईन्धन बोक्ने ट्याङ्करमा करिब ३ क्विन्टल गाँजासहित चालक पक्राउ

0
Shares

काठमाडौँ ।
२९५ किलो अवैध गाँजासहित मकवानपुरबाट एक ट्यांकर चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका २२ अम्लेखगंजका ३८ वर्षिय प्रल्हाद ठकुरी रहेका छन् ।

ठकुरीलाई विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काठमाण्डौंबाट खटी गएको प्रहरी अधिकृत सहितको टोलीले आज बिहान ५ बजे मकवानपुर मनहरी गाँउपालिका ७ रमनटार स्थित लोकमार्ग नजिक पक्राउ गरेकोे हो ।

चितवनबाट हेटौडा तर्फ आउदै गरेको ना ४ ख ३९६९ नम्बरको ईन्धन बोक्ने ट्याङ्करलाई चेकजाँच गर्ने क्रममा उक्त ट्याङ्करमा रहेका ५ चेम्बर मध्य २ चेम्बरमा प्लाष्टिकले बाँधी २२ वटा पोका बनाई लुकाई छिपाई भारत तर्फ लैजान लागिएको अवस्थामा प्रहरीले ट्याङ्कर चालक ठकुरीलाई पक्राउ गरेको हो ।

बरामद गरिएको गाँजा चितवन तथा मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा उत्पादन भई संकलन गरी भारत तर्फ ओसार(पसार हुन लागेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । बरामद गरिएको लागू औषध गाँजाको अबैध बजार मुल्य अन्दाजी ४५ लाख बराबर पर्नजाने बुझिएको छ ।

ठकुरीमाथि थप अनुसन्धान भैरहेको छ ।

त्यस्तै गत बैशाख १ गते यसै व्यूरोबाट खटिएको प्रहरी टोलीले मकवानपुर थाहा नगरपालिका ११ का २२ वर्षिय सोम बहादुर थोकर र सोहि जिल्ला कैलाश गाँउपालिका २ का ३६ वर्षिय ईमान सिंह स्याङ्बोलाई ना ४ ख ५३६८ नम्बरको ईन्धन बोक्ने ट्यांकर भित्र १६० किलो गाँजासहित पक्राउ गरिएको थियो ।