‘गुट बनाउनुपर्यो भने त म सबैभन्दा ठूलो गुट बनाउँछु’


काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता भफलनाथ खनालले गुट बनाउनै परे सबैभन्दा ठूलो गुट अाफूलेब बनाउने चेतावनी दिएका छन । अर्का वरिष्ठ नेता माधवकुमार नेपालको गुटबन्दीप्रति असन्तुष्टि जनाउँदै खनालले यस्तो बताएका हुन ।

वरिष्ठ नेता खनालले भनेका छन ‘सबैले गुट बनाउने खालको मात्रै कुरा गर्ने र पार्टीमा गुटैगुट भयो भने त्यो बेला मैले पनि सोच्नु पर्ने स्थिति आउन सक्छ । गुट बनाउनुपर्यो भने त म सबैभन्दा ठूलो गुट बनाउँछु ।’ उनले अगाडि भने  ‘म कहिल्यै गुट–उपगुटमा लागिन र लाग्ने पनि छैन । पार्टीलाई नीति र विधिमा लगिए यस्ता देखिन थालेका गुट उपगुट सबै सकिन्छन् ।’ उनले पार्टी कमिटीको नियमित बैठक बस्न नसक्दा अहिले विभिन्न नेताहरुले आआफ्ना कसरत गरिरहेको बताएका छन ।

खनालले अाफू पार्टीको बरिष्ठ नेता भएकोले निरन्तर पार्टीलाई एउटा कार्यदिशा दिन लागिरहेको बताएका छन । वरिष्ठ नेता खनालले कुनै पनि नेताले गुटबन्दी गर्ने खालको कुरा गर्छ भने त्यो दुर्भाग्य हुने बताए । उनले अाफू नेकपा बनाउने पक्षमा रहेको भन्दै एकीकृत नेकपा, राष्ट्रव्यापी नेकपा, जनव्यापी नेकपा, शक्तिशाली नेकपा र एउटा ज्यूँदो नेकपा निर्माण गर्ने मेरो प्रतिबद्धता जनाएका छन ।