कञ्चनपुर तनावग्रस्तः सरकारी वकिल कार्यालयको गाडि तोडफोड


मनोज भट्ट, महेन्द्रनगर । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाका अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक साथैे हत्यारा सार्वजनिकको माग गर्दै नेपाल विद्यार्थी संघले आह्वान गरेको कञ्चनपुर बन्दले यहाँको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारणले महेन्द्रनगर बजार क्षेत्र, यातायात, कलकारखाना, शिक्षण संस्था प्रभावित भएका छन् । बिहानैदेखि बजार पुर्ण रुपमा बन्द छ । लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छैनन् । यद्यपी मोटरसाइकल र अटो भने चलिरहेका छन । जिल्लाबाट बिभिन्न ठाउँका लागि छुट्ने तथा भित्रिने कुनै सवारीसाधन चलिरहेका छैनन् ।

घटना घटेको दुई महिना भन्दा बढि भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेको बिरोधमा नेवि संघले गरेको बन्दलाई स्थानिय व्यापारीहरुले पनि समर्थन गर्दै स्वस्फुर्त रुपमा बजार, कलकारखाना, सवारीसाधन, शैक्षिक संस्था बन्द गराएका हुन ।

आन्दोलनकारीले महेन्द्र राजमार्गका बिभिन्न ठाँउमा टायर बालेका छन । महेन्द्रनगर बजार सहित ,महेन्द्र राजमार्ग अन्तर्गत गड्डाचौकी, भाँसी, सुडा, लालपुर, सिसैया, दैजीमा टायर बालेर प्रदर्शन समेत गरिरहेका छन । सरकारले अपराधीलाई सार्वजनिक नगरी संरक्षण गरिरहेको भन्दै सरकार बिरुद्ध नारावाजी समेत गरिरहेका छन ।

घटना घटेको दुई महिना भन्दा बढि भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेका बिरोधमा आज कञ्चनपुर बन्द गरिएको नेवि संघका केन्द्रिय सदस्य गणेश भट्टले बताए ।

सरकारी वकिल कार्यालयको गाडि तोडफोड
आन्दोलनकारीले सरकारी वकिल कार्यालयको गाडिपनि तोडफोड गरेका छन् । बा २ झ २७१५ नम्बरको गाडि माथि तोडफोड गरि आन्दोलनकारिहरुले आन्दोलन झन चर्काउदै गएका छन् । सरकारी वकिल कार्यालय परिपसमै उक्त गाडि तोडफोड गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता कृष्णराज ओझाले बताए । आन्दोलनमा नागरीक दवाव समुहले पनि सहयोग गरिरहेको छ ।

नागरीक दवावमुलक समुहकि संयोजक मिना भण्डारीले गत शुक्रबार सार्वजनिक गरिएको डिएनए रिपोर्टमा आफुलाई संकालागेको बताउदै सरकारले नै वास्तबिक हत्याराको बचाउ गरिरहेको बताईन् । प्रहरीले प्रारम्भिक चरणबाटै प्रमाण नष्ट गरेका बताउदै वास्तबिक हत्यारा सार्वजनिक नगरुञ्जेल आन्दोलन जारिरहेने बताईन् ।

दशैं–तिहारका लागि भारत बाट फर्किने नेपाली समस्यामा
नेपालीहरुको महान चाडपर्व नजिकै रहेको समयमा भएको बन्दले गरिएको आम हडतालले सर्वसाधारण मर्कामा परेका छन् । रोजगारीका लागि भारत गएकाहरु स्वदेश फर्किने समय यही भएकाले उनिहरु सास्तीमा परेका हुन ।

मौसमी रुपमा भारतका विभिन्न सहरहरुमा ज्याला, मजदुरी तथा जागिर गरेर चाडँ पर्वका बेला घरपरिवार संगै दशैं तिहार मनाउन घर फर्किरहेका नेपालीहरु सिमा नाका गड्डचौकि क्षेत्रमा आन्दोलनको मारमा परेका छन् ।

कडा सुरक्षा
बन्दलाई मध्यनजर गरेर कञ्चनपुरका ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा ब्यबस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले बताए । उनका अनुसार प्रहरीहरु लाई आन्दोलनकारीहरु संगै परिचालन गरिएको छ । आन्दोलन भइरहेका प्रत्येक चोकहरुमा बाक्लो संख्यामा प्रहरी खटाइएको छ ।

गत साउन १० गते पढ्न भनेर साथीको घरमा गएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त बलात्कार गरी हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा फेला परेकी थिइन् ।