थाई एयरवेजका सात जना कर्मचारीको जागिर गयाे


काठमाडाैं । थाई एयरवेजले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुछिएका आफ्ना कर्मचारीलाई मुद्दा दायर भएको चार महिनापछि सेवाबाट हटाएको छ ।

अवकाश पाउनेमा हेमन्त गौतम, गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर र कपिल राज पुरी छन् । जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि थुनामा रहेका सात कर्मचारीलाई एयरवेजले असोज ५ बाट लागू हुनेगरी अवकाश दिएको एरवेजले जनाएको छ ।

मोरङ जिल्ला अदालतले अधिकांश प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । जेठ ८ गते जिल्ला अदालतले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध उनीहरुले उच्च अदालत विराटनगरमा निवेदन दिएको भए पनि उक्त मुद्दामा केही दिनदेखि पेसी चढ्दै हट्दै आएको छ ।

एययरवेजले सुन चोरी पैठारी तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको अवधि ९० दिनभन्दा बढी भइसकेकाले प्रचलित श्रम ऐनअनुसार अवकाश दिइएको जनाएको छ । श्रम ऐन २०७४ को दफा १३४(६) अनुसार रोजगारदाता आफैँले उजुरी दिई थुनामा रहेको अवस्थामा बाहेक प्रचलित कानुनबमोजिम थुनामा रहेको अवस्थामा निलम्बन ९० दिनभन्दा बढी भएको अवस्थामा सेवाबाट अवकाश दिनसक्ने व्यवस्था छ ।