पानीको ज्ञान केन्द्र खोल्ने तयारी


काठमाडौं (नेस)
पानीको धनी मानिएको नेपालमा पानीको समग्र जानकारी दिन पानीको ज्ञान केन्द्र स्थापना गर्न अत्यन्त जरुरी भएको कुरा राजधानीमा सोमबार आयोजित एक कार्यशालाका वक्ता र सहभागीहरुले जोड दिएका छन् ।

जनस्वास्थ्यको क्षेत्रमा कार्यरत ईन्जिनियरहरुको संस्था(सोसाइटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स,सोफेन) र खानेपानी,वातावरण र स्वास्थ्यको क्षेत्रमा काम गर्ने विश्व संस्था ग्लोबल इन्स्टिच्यूट अफ वाटर,इन्भाइरोमेण्ट एण्ड हेल्थ नामक संस्थाले संयुक्त रुपमा आयोजना गरेको कन्सल्टेटिभ वर्कसप अन बाटर नलेज हव विषयक कार्यशालाका स्रोत व्यक्ति र सहभागीहरुले त्यस्तो जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्व विद्यालयका रजिष्ट्रार डा. सुबोध शर्माले नेपाल संयुक्त राष्ट्र« संघले निर्धारण गरेका दिगो विकास लक्ष्यमा हस्ताक्षर गर्ने मुलुकमा रहेको र दिगो विकास लक्ष्यमा सबै जनतालाई सुरक्षित,सफा र स्वच्छ पानी खानेपानी उपलब्ध गराउने विषय समाविष्ट भएकोले पानीको ज्ञान केन्द्र खोल्न आवश्यक रहेको बताउनुभयो । उहाँले खानेपानी बाहेक पनि पानीको बहुउपयोगिता रहेको र नेपालको प्राकृतिक सम्पदामध्ये सबैभन्दा महत्वपूर्ण सम्पदा रहेकोले यसको संरक्षण र उपयोगकालागि पनि यस्तो केन्द्र स्थापना गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा ग्लोबल इन्स्टिच्यूट अफ वाटर,इन्भाइरोमेन्ट एण्ड हेल्थका अध्यक्ष डा. निदाल सलिमले स्वच्छ खानेपानी र सरसफाईको महत्व संसारभर सधैभर रहने उल्लेख गर्दै पर्याप्त स्वच्छ खानेपानीको व्यवस्था,पानीको व्यवसायिक बहुउपयोग आदिका बारेमा जानकारी दिन विषेश व्यवस्था हुन जरुरी रहेका बताउनुभयो । उहाँले खानेपानीका वायुमण्डलीय, सतहगत र भूमिगत स्रोतहरुको संरक्षण, प्राप्त पानीको उपयोगिताका बारेमा वर्तमान र भावि पुस्तालाई जिम्मेवार बनाउन पनि ज्ञान केन्द्रको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री ई. गणेश साहले खानेपानीको महत्व दिनानुदिन बढेको र पानीको बहुउपयोगिताबारे जानकारी एकै ठाँउमा पाउन सक्ने अवस्था विद्यमान नरहेकोले यो आवश्यकता पूरा गर्न नलेज हव को आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल ईन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. डा. हरेराम श्रेष्ठले नेपाल पानीमा धनी भएको र पानीको बहुक्षेत्रीय उपयोग हुने भएकोले त्यसको आवश्यकता,आपूर्ति र उपयोगिताकाबारेमा जानकारी दिन यस्तो हव उपयोगी हुने विचार राख्नुभयो ।

कार्यक्रममा सोफेनका अध्यक्ष ई.रामदीप साहले नेपालमा पानीको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकायहरु धेरै भएकोले एकीकृत तथ्यांक पाउन कठिन भएकोले यस्तो नलेज हब बनाएमा सूचना पाउन मात्र हैन,खानेपानी,सिंचाई,जलविद्युत,जलयातायात आदिकौ क्षेत्रमा योजना तर्जुमा गर्न,कार्यान्वयन गर्न, पानीलाई अधिक हुने क्षेत्रबाट न्यून हुने क्षेत्रमा लगेर मानवीय आवश्यकता पूरा गर्नुको साथै व्यवसायिक लाभ लिन पनि सजिलो हुने बताउनुभयो ।

सोफेनका अध्यक्ष ई रामदीप साहको अध्यक्षतामा सम्पन्न समुद्घाटन समारोहमा सोफेनका महासचिव ई.रामदीप साहले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल ईन्जिनियर महेश्वर श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै आयोगले नै नेपालमा पानीका सम्पूर्ण तथ्यांकाधार तयार पारेर काम गरिरहेकोले आयोग नै यस्तो नलेज हव हुनसक्ने बताउनुभयो ।सो शत्रमा सोफेनका अध्यक्ष ई.रामदीप साह र ग्लोवल इन्स्टिच्यूट अफ वाटर इन्भाइरोमेण्ट एण्ड हेल्थका अध्यक्ष डा.निदाल सलिमले यस्तो हवको आवश्यकताका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको तेस्रो शत्रमा पानी र सूचना प्रविधिको क्षेत्रमा कार्यरत विज्ञहरुबीच सामूहिक छलफल चलाइएको थियो । जसमा योजना आयोगका पूर्व उपाध्यक्ष डा.र्ई.दिनेशचन्द देवकोटा, जलवायु तथा मौसम विभागका महानिर्देशक डा.ऋषिराम शर्मा,पूर्व ऊर्जासचिव ई.सुमनप्रसाद शर्मा,खानेपानी मन्त्रालयका सहसचिव ई.अजयभद्र खनाल,जल तथा ऊर्जा आयोगका सहसचिव ई. माधव बेल्वासे,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बीरेन्द्र मिश्रले नलेज हवको आवश्यकताको बारेमा आआफ्ना घारणा राख्नुभएको थियो ।