चितवनसँग न्युडायमन्ड पराजित


काठमाडौं, (नेस)
आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा चितवन टाइगर्सले न्यु डायमन्डलाई हराएको छ ।
यो जितसँगै चितवन समूहको विजेता बन्दै सेमिफाइनल पुग्यो भने पराजित बावजुद न्युडायमन्डले उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्न सफल भयो । समूह ए को शीर्ष टोली चितवनले सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग भिड्नेछ । त्यस्तै न्युडायमन्डले फाइनल पुग्नका लागि नेपाल एपीएफ क्लबसँग भिड्नेछ । समूह बी मा एपीएफ पहिलो र पुलिस दोस्रो टोली भएका हुन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा चितवनले न्यू डायमण्डलाई प्रतिष्पर्धात्मक खेलमा ३–१ सेटले हराएको थियो । पहिलो सेट न्युडायमन्डले २५–१९ ले हारे पनि दोस्रो सेट संघर्ष गरी २९–२७ ले आफनो बनायो र सेट एक एक बराबरी भएको थियो । तर तेस्रो र चौथो सेटमा भने विदेशी खेलाडी सम्मिलित चितवनले क्रमशः २५–१९ र २८–२६ ले जित्दै समूहको शीर्ष टोली बन्यो ।

हिजै भएको अर्को खेलमा एपीएफले पोखरा पिंकेजलाई ३–० को सीधा सेटमा पराजित गरेको थियो। विभागिय टोलीले सो खेल २५–१३, २५–११ र २५–१५ ले जितेको थियो । भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन्