तेजाव प्रहार गर्ने पाँच वर्षसम्म भेटिएनन्


रोशन पराजुली, हेटौंडा
२०७० वैशाख ९ गते विहान करिब ११ बजे । हेटौंडा–३ मा रहेको भाँडा पसलमा २१ वर्षकी अञ्जली (नाम परिवर्तन) लाई पसलभित्र बसिरहेको अबस्थामा तेजाव प्रहार भयो ।करिब २७ वर्षका राज केशरी उनको अनुहारमा तेजाव फ्याँकेर फरार भए । पाँच वर्षसम्म पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनलाई पक्राउ गर्न २०७० देखि नै जिल्ला प्रहरी कार्यालयमा जो प्रमुख आए पनि सफल भएका छैनन् ।
प्रहरी नायब उपरीक्षक मनोज शाहका अनुसार पीडकलाई पाँच वर्ष अवधिभर प्रहरी भारतसम्म खोज्न पुग्यो तर पत्ता लागेनन् । हालसम्म पनि केशरीको खोजीमा आफूहरु जुटिरहेको शाहले दाबी गर्नुभयो ।शाहका अनुसार बदला लिने उद्धेश्यले अनुहारमा तेजाव प्रहार भएको हो । कारण भने शाहले खुलाउन चाहनु भएन । अनुहारमा प्रहार भएकी ती युवतीको स्वास्थ्यमा पहिले भन्दा निकै सुधार भएको शाहले जानकारी गराउनुभयो ।

नम्बर नखुलेको पल्सर मोटरसाइकल पछाडि बसेर आएका केशरीविरुद्ध तत्काल प्रहरीमा उजुरी गरिए पनि प्रहरीले अघिल्लो चौकीसँग समन्वय नगर्दा उनी सोही दिन रक्सौल नाका हुँदै भारत फरार भएको परिवारको दाबी छ । घटनापछि युवतीको स्वास्थ्योपचारका लागि परिवारले हालसम्म करिब ६० लाख बढी खर्च गरिसकेको छ ।उनको काठमाडौंमा दुईपटक प्लाष्टिक सर्जरी र भारतको तामिलनाडुमा त्यसपछि हरेक तीन महिनामा कस्मेटिक सर्जरी गरिँदै आएको छ । ‘छोरीको उपचारमा खर्च भएकोमा पीडा छैन तर, अपराधीले उन्मुक्ति पाएकोमा भने मलाई ज्यादै पीडा छ,’ युवतीका बुबाले भन्नुभयो ।

युवतीले आफ्नो घटनामा पहिचान भइसकेका अपराधी केशरीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय हुने विश्वास व्यक्त गरिन् । आफूले सम्मान गरेर ‘दाइ’ भनी सम्बोधन गर्ने गरेको व्यक्तिबाट नै जीवन बर्बाद हुने गरी तेजाव आक्रमण हुन्छ भन्ने आफूले सोच्दै नसोचेको उनले बताइन् ।तेजाव आक्रमणपछि आफूले आँखा कम देख्न थालेको र विशेष प्रकारको उपचार घरमै गर्न आफू बाध्य भएको उनले गुनासो गरिन् । आक्रमणपछि उनको पढाइ लामो समय बन्द भयो । परिवार र शुभचिन्तकले धेरै सम्झाएपछि मात्र उनले आफ्नो पढाइलाई निरन्तरता दिएकी थिइन् ।

हाल देशमा दिनप्रतिदिन तेजाव प्रहारका घटना बढ्दो छ । आक्रमणमा पर्नेहरु प्रायः किशोरी र युवती छ । तेजावले छालामात्र होइन, हड्डीसमेत जलाउँछ । शरीर धेरै जले ज्यान जोखिममा पर्छ । अनुहार जल्ने भएकाले प्लास्टिक सर्जरीबाट पनि उपचार सम्भव हुँदैन । आँखामा प¥यो भने तत्काल ज्योति गुम्न सक्छ । ‘नेपालमा महिलाहिंसाको पछिल्लो क्रममा तेजाव प्रहार एउटा तुच्छ हतियार बनेको छ,’ मकवानपुरका वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले भन्नुहुन्छ–यस्ता तेजाव सुनचाँदी पसल र विभिन्न उद्योगमा उपयोग गरिन्छ । मुलुकी अपराध ऐनले तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पारे पाँचदेखि आठ वर्षसम्म कैद तोकेको काफ्लेले बताउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले यो मानिस आफैंले बनाउनसक्ने रसायन नभएको बताउँदै जो कोहीले आपूर्ति गर्न नपाउने बताउनुभयो । इजाजतप्राप्त सप्लायर्स कम्पनीलाई मात्र यसको अधिकार छ ।उनीहरुसँग पनि जो कोहीले किन्न पाउँदैनन्, तापनि दुरुपयोग भइरहेको कुरालाई मध्यनजर गर्दै दशैंको बेला बजार अनुगमनका क्रममा तेजावको समेत अनुगमन गरिने प्रजिअ तामाङले बताउनुभयो । यस्ता घटनाहरुमा प्रशासन सचेत रहेको उहाँले बताउनुभयो ।