साढे दुई लाखमा बिके ७ खेलाडी


काठमाडौं, (नेस)
पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म आयोजना हुने पोखरा प्रिमियर लिग टी–२० का लागि आइतबार भएको प्लेअर अक्सनमा राष्ट्रिय टिमका ७ खेलाडी अधिकतम रकममा बिक्री भएका छन् ।

६ टिमको मार्की प्लेयरको रुपमा रहेका ६ जना खेलाडी बाहेक अन्य ७ खेलाडी अधिकतम मूल्य २ लाख ५० हजार अनुबन्ध भएका हुन् । जसअन्तर्गत बसन्त रेग्मी, सागर पुन, अनिल कुमार शाह, करण केसी, विनोद भण्डारी, मोहमद आरिफ शेख र रोहित कुमार पौडेललाई अधिकतम मूल्यमा बोली लागेको थियो । यो बाहेक राष्ट्रिय टिमबाट सन्यासको घोषण गरिसकेका भेट्रान स्पीनर शक्ति गौचनलाई चितवन टाइगर्सले अन्तिममा विचलिस्टमार्फत पेनाल्टी तिरेर लिएको थियो ।

त्यसमध्ये चितवनले सबैभन्दा बढी तीन खेलाडी अनिल कुमार शाह, करण केसी र आरिफ शेखलाई लिन सफल भयो । यस्तै पोखरा पल्टनले रोहित पौडेल र विनोद भण्डारी, काठमाडौँ रोएल्सले बसन्त रेग्मी तथा बुटवल ब्लास्टर्सले सागर पुनलाई किनेको छ । यी सातै खेलाडीलाई एकभन्दा बढी टिमले बोली लगाएका पनि अन्तिममा टिम छनोट भने गोलप्रथाद्वारा गरिएको थियो ।

लिगमा सहभागी सबै ६ क्लबले मुख्य खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रयास गरेको थियो । काठमाडौँमा भएको लिलामीमा कुल १ सय ७८ खेलाडी अक्सनमा रहेका थिए । खेलाडीलाई ३ श्रेणीमा विभाजन गरि मुल्य तोकिएको थियो । क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको थियो ।

क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३) टोलीबाट खेलेका खेलाडी र अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टोलीबाट खेलेका बाहेकका खेलाडी रहेका थिए । क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य रु ५० हजार राखिएको थियो भने अधिकतम मूल्य रु दुई २ लाख ५० हजार राखिएको थियो ।

क्याप्ड एज लेभलको न्यूनतम मूल्य रु ५० हजार, अधिकतम मूल्य रु एक लाख ५० हजार, अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य रु ३० हजार र अधिकतम मूल्य एक लाख तोकिएको थियो । पीपीएलमा ६ शहरका ६ टिम रहेका छन् ।

साढे २ लाखमा बिकेका ७ खेलाडी
अनिल कुमार साह, करण केसी र मोहमद आरिफ शेख (चितवन राइनोज्)
विनोद भन्डारी, रोहित कुमार पौडेल, (पोखरा पल्टन)
सागर पुन, (बुटवल ब्लास्टर्स)
बसन्त रेग्मी, (हुलास काठमाडौं रोयल्स्)