लक्ष्मणको गोलमा संकटा विजयी


नेपाल समाचारपत्र, काठमाडौं
लक्ष्मण रुचालले अन्तिम समयमा गोल गरेपछि संकटा क्लबले शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आफनो पहिलो खेलमा जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आईतबार भएको खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० गोलअन्तरले हराएको हो । निरस खेलको निरस नतिजा निस्कन केही सेकेण्ड मात्रै समय बाँकी थियो । तर रुचालले काउन्टर एट्याकमा गोल गर्दै संकटालाई जित दिलाएका थिए । यो जितका साथै संकटाले स्पष्ट ३ अंक जोड्दै लिग पुन संचालन नहुन्जेल शीर्ष स्थानमा रहनेछ ।

शनिबार लिगको उदघाटन खेलमा त्रिभुवन आर्मी क्लब र एनआरटी २–२ बराबरीमा रोकिएको थियो । सो खेल निक्कै विवादास्पद भएको थियो । खेलको अन्त्यतिर अनावश्यक फ्रिकिक दिएको भन्दै एनआरटीले रेफ्री सुदिस पाण्डेविरुद्ध छानवीन गर्न पत्र एन्फालाई बुझाएको छ । सो फ्रिकिकमा गोल भएपछि एनआरटीले जित्ने खेल बराबरीमा चित्त बुझाउनु परेको थियो ।

सरस्वतीका कप्तान दिपेश श्रेष्ठले एकल प्रयासमा संकटाविरुद्ध गोल गर्ने मौका आएको थियो । तर संकटाका डिफेन्डरले उनको कोसिसलाई असफल गरिदिएका थिए । डिफेन्डरले त्यही बेला गरेको लामो प्रहारमा बल दायाँ विंगमा रहेका सेडरिकले पाए । उनले सरस्वतीको डिबक्समा बल क्रस गरेका थिए । उनको क्रसमा वान टचमै लक्ष्मणले क्लोज रेन्जमा जाली चुमाइदिएका थिए ।

यसअघि संकटाका आक्रमण विफल तुल्याएका सरस्वतीका गोलकिपर प्रदीप भण्डारी अन्तिममा लक्ष्मणको प्रहारमा चुके । उनले बल कता गएको भन्ने नै थाहा भएन । उनले सम्हालिन खोज्दासम्म गोल भइसकेको थियो । उनले पहिलो हाफमा लक्ष्मणकै कडा प्रहार पन्च गरेर गोल हुनबाट जोगाएका थिए । यस्तै दोस्रो हाफमा अमित तामाङको प्रहारलाई पनि उनले पन्च गरिदिएका थिए ।

सरस्वतीले धेरै मौका गुमाउनु नै संकटाको लागि राहत मिलेको थियो । विनोद केसीले ४४औं मिनेटमा गोल गर्ने ठूलो अवसर प्राप्त गरेका थिए । तर उनी वान भर्सेस वानमा पनि चुक्न पुगे । उनी डिबक्समा सम्हालिन सकेनन् र संकटाका गोलकिपरले सजिलोसँगै उनलाई रोकेका थिए । त्यसो त संकटाका लागि पनि २६औं मिनेटमा राम्रो मौका आएको थियो । सरोज दाहालले कर्नरबाट आएको बललाई हेड गरी विष्णु गुरुङतिर प्रहार गरे । तर गोलपोस्ट नजिकै रहेका विष्णुले बललाई टच समेत गर्न सकेनन् ।

लिग स्थगित
नेपाली राष्ट्रिय टोली बंगबन्धु गोल्डकपमा उपाधि रक्षा गर्ने लक्ष्यका साथ हिजै ढाका प्रस्थान गरेको छ । लिगमा खेलिरहेका राष्ट्रिय खेलाडीको अनुपस्थित हुने भएकोले लिगलाई केही दिन स्थगित गर्ने निर्णय एन्फाले लिएको छ । नेपाली टोलीले बंगबन्धु गोल्डकपमा ताजकिस्तान र प्यालेस्टाइनविरुद्ध खेल्नेछ । नेपाली टोली फर्केपछि लिगले पुन गति लिनेछ ।