प्रतिवेदन सार्वजनिक गर्न माग, कञ्चनपुरमा शैक्षिक आमहडताल


मनोज भट्ट, महेन्द्रनगर
निर्मला हत्याकाण्डबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बिद्यार्थी संघ कञ्चनपुरले सोमवार (भोली) शैक्षिक हड्ताल आह्वान गरेको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघले सोमवार (भोली) एक दिन शैक्षिक हड्ताल आह्वान गरेको हो ।

निर्मला हत्याबारेको प्रतिवेदन सार्वजनिक र हत्यारालाई छिटो कानुनी दायरामा ल्याउने पर्ने माग गर्दै नेवि संघले शैक्षिक हड्ताल गरेको नेवि संघका नेता अच्युत कलौनीले बताए । घटना घटेको दुई महिना भन्दा बढि भइ सक्दा पनि हत्यारा पहिचान गर्न हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेकोले बाध्य भएर हड्ताल गर्नु परेको उनले बताए ।

उच्च स्तरिय छानविन समितिको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेर सरकारले बलात्कारीलाई बचाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उनले बताए ।

तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषिलाई कारवाही नगरेमा आफुहरु शसक्त आन्दोलनमा जाने विद्यार्थीै नेता किशोरप्रसाद जोशीले चेतावनी दिए ।
गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानविन समितिले घटनाबारे एक महिना अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइए पनि सार्वजनिक भएको छैन।

गत साउन १० गते पढ्न भनेर साथीको घरमा गएकी भीमदत्त नगरपालिका(२ की १३ वर्षीया निर्मला पन्त बलात्कार गरी हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा फेला परेकी थिइन्। बलात्कार र हत्यामा संलग्न आरोप लागेका तत्कालीन एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुश विष्टको डीएनए रिपोर्ट पनि निर्मलाको ‘भेजिनल स्वाब’ सँग मेल नखाएको पछि घटनाले अझै रहस्यमयी बनेको छ ।