विश्व बसोबास दिवसमा फोहोरमैला व्यवस्थापन मुद्दा


चिरञ्जीवी मास्के, काठमाडौं
सरकारले विश्व बसोबास दिवस २०१८ लाई ‘शहरी फोहरमैला व्यवस्थापन’ नाराका साथ मनाउने तयारी गरेको छ । मानिसको बसोबाससंग फोहोरमैला पनि जोडिने भएकोले असोज १५ गते सोमवार ‘शहरी फोहरमैला व्यवस्थापन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको विश्व वसोवास दिवस मूल तयारी समितिका संयोजक इन्जिनियर शिवहरी शर्माले बताए ।

संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यूएन हेबिटेड) द्वारा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास नीतिको प्रर्वधन गर्ने उदेश्य सहित विश्वको ध्यानाकर्षण गर्न सन् १९८६ देखि हरेक बर्षको अक्टोबर महिनाको पहिलो सोमवार यो दिवस मनाइँदै आएको छ । नेपालमा भने सन् २००१ देखि बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा नेपाल सरकारले यो दिवस मनाउने गरेको हो ।

मुलुकमा भएको जनसंख्या बृद्धि र तिब्र सहरी करणका कारण फोहर मैलाको समस्या विकराल बन्दै गई रहेको सन्र्दभमा फोहर आफै आफ्नो घरबाटै व्यवस्थापन गर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि पनि यो बर्षको विश्व बसोबार दिवस ‘शहरी फोहोरमैला व्यवस्थापन’ भन्ने मूल नाराका साथ मनाउन लागिएको मूल तयारी समितिका संयोजक शर्माले बताए ।

असोज १५ गते सोमवार यो दिवसको अवसरमा विशेष गरी फोहर मैला व्यवस्थापनको बारेमा हेटौडा उपमहानगरपालिका र वालिङ नगरपालिकाबाट विशेष प्रसतुति रहेको आयोजक शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

फोहर मैला आफु नजिक हुन नहुने तर अलिक टाढा राख्न हुने मान्यताले समस्या निम्ताउदै गएकोले फोहर व्यवस्थापन आफ्नो घर र आफ्नो टोलमै व्यवस्थापन गर्नु पछृ भन्ने सन्देश यस बर्षको दिवसले दिने संयोजक शर्मा बताउँछन् ।

फोहर मैलामा अहिले इलेक्ट्रोनिक ओस्टेड फोहर समेत ठुलो समस्याको रुपमा रहेको र यसले मानव स्वास्थ्यमा समेत गम्भीर असर गरिरहेकोले यो विषयमा समेत दिवसको अवसरमा चेतना मूलक अभियान सञ्चालन गरिने युएन हेभिटेडका इन्जिनियर पिएस जोशी बताउछन् ।

शहरी विकास तथा भवन निर्माण विभागका सहसचिव इन्जिनियर रामचन्द्र दंगाल फोहर मैला व्यवस्थापनको लागि मुख्य त उत्पादन घटाउने र पुनः प्रशोधन गर्ने कुरा महत्वपूर्ण हुने भएकोले यो विषयको प्रचार प्रशारको लागि पत्रकारहरले समेत सहयोग गर्नु पर्ने बताउछन् ।