चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना


काठमाडौं, (नेस)
महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंले नेपालीको महान् चाड दशैं, तिहार र छठको अवसरमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउन लक्ष्यसहितको सुरक्षा सम्बन्धी योजना आइतबार पत्रकार सम्मेलनको आयोजन गरी सार्वजनिक गरेको छ ।

चाड पर्वको अवसरमा हुन सक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अबैध मदिरा बिक्रीबितरण, तस्करी, ट्राफिक दुर्घटना, महिला हिंसा लगायतका आपराधिक क्रियाकलापहरु नियन्त्रणमा राख्न सादा पोसाकमा समेत गरी कुल ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको उक्त अवसरमा जानकारी गराइयो ।

सर्वसाधारणको घर सम्पत्ती रहेको स्थान, महत्वपुर्ण प्रतिष्ठानहरु, मठ मन्दिर, गुम्बा रहेको स्थान, बित्तिय संस्था एवं आर्थिक कारोबार हुने स्थान, यातायात सञ्चालन हुने स्थान, ब्यापारिक कारोबार हुने स्थान, सरकारी कार्यालय तथा अन्य सरकारी सम्पत्ती रहेका स्थान, काठमाडौं प्रवेश गर्ने नाकाहरु, होटेल, गेष्ट हाउस तथा रेष्ट्रुरेन्ट, अपराधिक गतिबिधि हुने स्थान, राजमार्ग तथा ग्रामीण बस्ती तथा बिशिष्ट ब्यक्तिको गतिविधि हुने स्थानहरुमा उक्त सुरक्षाकर्मीहरु परिचालन हुने महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

जनमानसमा सुरक्षकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने, अपराधको न्यूनीकरण गर्दै अपराधीलाई कारवाहीको दायरामा ल्याउने तथा प्राप्त साधन स्रोतको दुरुस्त तथा प्रभावकारी परिचालन गर्ने उद्देश्य रहेको सोही परिसरले जनाएको छ ।