१० करोड काण्डमा चाबहिल मालपोतका प्रमुख पक्राउ


काठमाडौं  । मालपोत कार्यालय चाबहिलका प्रमुख पक्राउ परेका छन् ।  धनीलाई थाहै नदिई करिब १० करोड रुपैयाँबराबरको जग्गा बिक्री गरेको आरोपमा मालपोत कार्यालय चाबहिलका प्रमुख (उपसचिव) कमलप्रसाद तिमल्सिनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनीसहित नासु चन्द्रबहादुर श्रेष्ठ र कार्यालय सहयोगीद्वय मुकुन्द धिताल र रमेश महजर्नलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो । चाबहिल मालपोतका थप चार कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन् ।

उनीहरूको बयानमा कार्यालय प्रमुखकै संलग्नता खुलेको हो । यसअघि पक्राउ परेका कर्मचारीले कार्यालय प्रमुख तिमल्सिनाको निर्देशनअनुसार नै जग्गा पासको काम भएको उनीहरूको बयान छ । त्यस्तै, मालपोत कार्यालयका कर्मचारीहरूले जग्गा धनीका फोटो परिवर्तनमा सहयोग गरेको आशंका गरिएको छ । व्यवसायी चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठ–१६ स्थित ४० आना जग्गा एक महिनाअघि उनलाई थाहा नै नदिई नक्कली कागजपत्रका आधारमा बिक्री भएको थियो ।

अभियुक्तको संख्या १३ पुग्यो
जग्गा बिक्री प्रकरणमा अभियुक्तको संख्या १३ पुगेको छ । यसअघि नौजना पक्राउ परेका थिए । प्रहरीले मालपोत कार्यालय चाबहिलका मालपोत अधिकृत खगेन्द्र अर्याल तथा नासुहरू जमुनाकुमारी श्रेष्ठ, रञ्जन खरेल र रघुनाथ तिमल्सिनालाई प्रहरीले दुई साताअघि पक्राउ गरेको थियो ।

मालपोत कार्यालयमा रहने स्रेस्तामै उनको फोटो उप्काएर अर्का व्यक्तिको फोटो राखी त्यही आधारमा नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री भएको थियो । कायस्थको जग्गा श्रीकृष्ण देवकोटा र धुव्रप्रसाद भट्टराईको नाममा नामसारी भएको थियो । उनीहरू पनि हिरासतमै छन् । गिरोहका श्रीकृष्ण बडुवाल र सानुभाइ श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

नक्कली नागरिकता तथा लालपुर्जाका आधारमा जग्गाको राजीनामा पास गरिएको थियो । कायस्थले छिमेकीबाट सूचना पाएर मालपोत कार्यालय पुग्दा कर्मचारीहरूले मिल्न आग्रह गरेका थिए ।