जेसुम यात्रा नगरकोटमा


तामाङ भाषाको शब्द सापटी लिएर केही कवि, चित्रकार र रंगकर्मीले एउटा स्वतन्त्र अभियान शुरू गरेका छन्। स्थानीय संस्कृति, पात्र, विषयवस्तु, परिवेशसँगै बिम्ब र प्रतीक खोजी गर्दै कला, साहित्य र रंगमञ्चमार्फत समाजमा सकारात्मक उत्प्रेरणा फैलाउने उद्देश्यले अघिल्लो महिनाबाट शुरू भएको जेसुम यात्राको दोस्र्रो शृंखला शनिबार नगरकोटमा सम्पन्न भएको छ।

काठमाडौंको जहरसिंह पौवाबाट शुरू भएको हाइकिङ सुनडोल कात्तिके भञ्ज्याङ हुँदै ५ घण्टामा नगरकोट बतासेडाँडा पुगेको थियो। छेवैमा पिकनिक चलिरहेको बेला चित्रकार एनबी गुरुङसहित लालकाजी लामा, बाबु साइँला र डिबी राईले स्थानीय दृश्यहरू क्यानभासमा सजाए। लालकाजीले बौद्ध दज्र्यु र बादलको थाङका–पौभाको रेखा सापटी लिएर आफ्नो क्यानभास रंग्याए। साइँला प्रकृतिमा बढी रमाए, डिबीले चाहिँ भँकम्पपछि स्थानीयपनमा देखिएको बदलाबलाई विषयवस्तु बनाए। हरियाली जंगलका बीच जस्तापाताले छाएका घरको दृश्यमा डिबी हराए।

चित्रकार एनबी गुरुङले वाटर कलरमा रूख उभ्याउँदा डायरी लिएर क्यानभासमा नियाल्दै थिइन् कवि अनिता लामा। एनबीले चित्र कोर्ने क्रममा रूखकै छेउ साइकल अड्याइराखेको दृश्य बनाए। खासमा एनबीले आफ्नै अघिल्तिरको दृश्य उतारेका थिए। क्यानभासभित्रको साइकललाई भने कवि अनिताले बलात्कारपछि मृत भेटिएकी निर्मला पन्तको संवेदना पोख्ने माध्यम बनाइन्। सिरसिरे हावा चल्दै गर्दा उनले निर्मला सम्झेर प्रत्यक्ष कविता सुनाइन्। कवि एवं नाटककार फँलमान वलले नगरकोटलाई तामाङ समुदायको नजरबाट हेर्दै यसको पुरानो र सांस्कृतिक सौन्दर्यको बखान गरे कविता आदिबासी गीतमा।