‘मेरो मुटु, तिम्रो मुटु’


काठमाडौँ, (नेस)
‘मेरो मुटु, तिम्रो मुटु’ भन्ने नाराका साथ शनिबार विश्व मुटु दिवस मनाइयो । नेपालमा पनि विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाइयो । यसै अवसरमा बि. एण्ड बि. अस्पतालले स्वस्थ मुटुको निम्ति नियमित व्यायामको महत्वलाई जोड दिने हेतुले ‘वाकाथन’ आयोजना गरेको थियो ।

वाकाथन बि. एण्ड बि. अस्पताल, ग्वार्कोबाट शुरु भएर पाटनको मंगलबजार, पुल्चोक, जावलाखेल, कुमारीपाटी र लगनखेल हुँदै बि. एण्ड बि.मै पुगी बिसर्जन भएको थियो ।

यसैबीच नर्भिक इन्टरनेशनल हस्पिटलले १ सय शैयायुक्त १ लाख वर्गफिटको नयाँ भवन थप्ने र हस्पिटललाई दक्षिण–पूर्वी एशियाकै सर्वेत्कृष्टमध्येको एक बनाउने उद्घोष गरेको छ । उक्त अस्पतालका अध्यक्ष बसन्तकुमार चौधरीले यसै दिवसका अवसरमा आयोजित एक् कार्यक्रममा बोल्दै उक्त जानकारी दिनुभएको हो ।

विश्व मुटु महासंघको आह््वानमा हरेक वर्ष सेप्टेम्बर २९ मा यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको यस दिवसले झण्डै २ दशक हुन लागेको छ ।

हाल विश्वमा १ करोड ७५ लाखभन्दा बढी मानिसले प्रत्येक वर्ष मुटुरोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।