किसानका लागि सहुलियत नर्सरी


नेपाल समाचारपत्र, पर्वत
पर्वतको कुश्मा नगरपालिकाले कृषकका लागि तरकारी र फलफुलका बिरुवा सहुलियत दरमा उपलब्ध गराउन नर्सरी सञ्चालन गरेको छ ।

कुस्मा नगरपालिका–७ मा सञ्चालन गरिएको तरकारी र फलफुल नर्सरीले शनिबार देखि औपचारिक रुपमा बिरुवा बितरण शुरु गरेको हो । नगर प्रमुख रामचन्द्र जोशीले बिरुवा बितरण गरेर नर्सरीको औपचारिक रुपमा शुरुवात गरे ।

कुस्मा नगरपालिकाको भौगोलिक बिबिधता हेरेर बिभिन्न जातका तरकारी र फलफुलका बिरुवा उत्पादन तथा बितरण गर्ने लक्ष्य राखिएको कुश्मा ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए । कृषकले निजी नर्सरीमा किन्ने बिरुवाको तुलनामा यो नर्सरीबाट दुई तिहाइ सस्तो दरमा बिरुवा उपलब्ध गराउने पौडेलले बताए । नगरपालिकाभित्रका कृषकहरुबाट प्रत्येक महिनाको २५ गतेभित्रमा विरुवाको माग संकलन गर्ने र माग अनुसार सम्बन्धित कृषकहरुलाई विरुवा वितरण गर्ने तयारी छ । ‘मागका आधारमा सहुलियत दरमा बिरुवा उपलब्ध गराउने छौ’ उनले भने ।

हाल एउटा हाईटेक टनेलभित्र तरकारीका विरुवा उत्पादन भैरहेको नर्सरी २ रोपनी क्षेत्रमा फैलिएको छ । भाडामा जग्गा लिएर नर्सरी स्थापना भएको हो । नगरपालिकाले चालु वर्ष ३ लाख रुपैयाँ समेत विनियोजन गरेको छ । उक्त नर्सरीमा उन्नत जातको काउली, टमाटर, बन्दागोवी, ब्रो काउली, खुर्सानी, रायो, सिमी, बोडीका बिरुवासहित डालेघाँस, कागती, सुन्तला, निवुवा, कफीका बिरुवा समेत जमाउने तयारी छ ।