४३ प्रतिशत बालबालिका पुड्कोपनका शिकार


नेपाल समाचारपत्र, दार्चुला
दार्चुला जिल्लाका ४३ प्रतिशत बालबालिकाहरुमा पुडकोपन रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार नेपालको सन्दर्र्भमा ४१ प्रतिशत बालवालिकाहरु पुड्कोपनको शिकार भएकोमा दार्चुलामा मात्रै ४३ प्रतिशत बालवालिका पुड्कोपनबाट पीडित रहेका छन् ।

राष्ट्रिय तथ्यांकभन्दा २ प्रतिशत बढीले जिल्लाका अधिकांस बालबालिकाहरु प्रभावित रहेको जिल्ला जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले जानकारी दिए । यस्तै ख्याउटेपनाबाट समेत जिल्लामा राष्ट्रिय तथ्यांक भन्दा बढी बालबालिका ग्रसीत रहेको जनस्वास्थ्य अधिकृत जोेशीको भनाई छ ।

दार्चुलामा १३ प्रतिशत बालबालिकामा ख्याउटेपना रहेको तथ्यांकले देखाएको छ । खास गरी खानपिन तथा पोषणको अवस्थामा सुधार हुन नसक्दा बालबालिकाहरुमा कुपोषण देखीएको उनले बताए । ‘बालबालिकाहरुको शारिरीक तथा मानसिक विकासको लागि उपयुक्त वातावरण नभएका कारण उक्त समस्या देखिएको हो उनले भने’ । यस्ता बालबालिकाको उमेर अनुसारको उचाई र उचाई अनुसारको तौल नहुने समस्या रहेको छ । महिलाहरुले सुरक्षित सुत्केरी, पोषण युक्त खानेकुरा र नियमित गर्भ परिक्षण गराउनुले बालबालिको पोषणको अवस्थामा प्रत्यक्ष असर देखीने गरेको जनास्वास्थ अधिकृत जोशीले बताए ।

सुरक्षित पिउने पानी र सरसफाइको अभाव, रोग तथा संक्रमण नियन्त्रण नहुनुले पनि बालबालिकामा कुपोषण हुने गरेको छ । कुपोषणलेनै बालबालिका पुड्के र ख्याउटे हुने गरेका छन् । यस्तै १८ वर्ष उमेर भन्दा मुनीका आमाहरुले वच्चा जन्माउदा जन्मने वच्चा तथा आमा समेत कुपोषित हुने गरेको पाइएको छ । विभिन्न सर्वेक्षणले देखाए अनुसार महिला तथा बालबालिकामा रक्त अल्पताको समस्या पनि देखाएको छ ।