५९ करोड जरिवाना असुल्न बाँकी


यमलाल भुसाल, बुटवल
उच्च अदालत तुल्सीपुर बुटवल ईजलास मातहतका जिल्ला अदालतमा हालसम्म झण्डै ५९ करोड रुपैंया जरिवाना असुली गर्न बाँकी रहेको छ ।
अदालत स्थापना भएदेखि चालु आर्थिक वर्षको भदौ मसान्त सम्म जम्मा १ करोड १ लाख ६७ हजार ८६७ रुपैंया लगत असुली भएको उच्च अदालत तुल्सीपुर बुटवल ईजलासका उपरजिस्टार नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो । जरिवाना असुली भएको रकम कुल लगतको १ दशमलव ७ प्रतिशत मात्रै हो ।

उच्च अदालत तुल्सीपुर बुटवल ईजलास मातहतका रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची गरी ६ वटा जिल्ला अदालतमा चालु आर्थिक वर्षको भदौ मसान्त सम्म ५९ करोड ८७ लाख ८८ हजार ९५४ रुपैंया जरिवाना निर्धारण भएको थियो । सोही लगत अनुसार अव ५८ करोड ८६ लाख २१ हजार ८७ रुपैंया असुली गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
अदालतबाट फैसला भएका निर्णय अनुसार सबैभन्दा बढी रुपन्देही जिल्ला अदालतबाट १७ करोड ८३ लाख ५८ हजार ८३८ रुपैंया असुली गर्न बाँकी छ भने सबैभन्दा कम अर्घाखाँची जिल्ला अदालतबाट फैसला भएका मुद्धामा ५३ लाख १३ हजार १९० रुपैंया असुली गर्न बाँकी छ ।

त्यस्तै रुपन्देहीकै हाराहारीमा गुल्मी जिल्ला अदालतबाट फैसला भएका मुद्धामा पनि १७ करोड ६५ लाख ३२ हजार ९५७ रुपैंया असुली हुन बाँकी छ । सबैभन्दा कम असुली गर्ने जिल्ला पनि गुल्मी जिल्ला हो । गुल्मी जिल्लामा फैसला भएका मुद्धामा हालसम्म ६ लाख ८३ हजार २२ रुपैंया मात्रै असुली भएको छ । उच्च अदालत तुल्सीपुर बुटवल ईजलासले दिएको तथ्यांक अनुसार नवलपरासी जिल्ला अदालतबाट फैसला भएका मुद्धामा ११ करोड ५५ लाख ७० हजार ७२१, पाल्पाबाट फैसला भएका मुद्धामा ६ करोड ७३ लाख ३ हजार १७०, कपिलबस्तु जिल्ला अदालतबाट फैसला भएका मुद्धामा ४ करोड ५५ लाख ४२ हजार २०९ रुपैंया असुली हुन बाँकी रहेका छन ।

मुद्धा फैसला गर्दा अदालतले मुद्धाको प्रकृतिका आधारमा जरिवाना तोकेपनि त्यसपछि मान्छे फेला नपर्ने, जरिवानामा परेका व्यक्तिको मृत्यु, जरिवाना असुल गर्ने छुट्टै संयन्त्र नभएका कारण पनि जरिवाना असुलीमा प्रगति हुन नसकेको उच्च अदालत तुल्सीपुर बुटवल ईजलासका रजिष्टार ठगिन्द्र कट्टेलले बताउनु भयो । गत भदौ १ गतेदेखि लागु भएको कानुन अनुसार जरिवाना तोकिएका व्यक्तिको चलअचल सम्पत्ति समेत रोक्का हुने भएकाले असुली केसी सहज हुने उहाँले बताउनु भयो । यद्यपी जरिवाना असुली गर्ने संयन्त्र बनाउन आवश्यक रहेको उहाँको भनाई छ ।

चालु आर्थिक वर्षको भदौ मसान्त सम्म उच्च अदालत तुल्सीपुर बुटवल ईजलासमा कुल ९५ वटा मुद्धा फस्र्यौट भएका छन् । चालु आर्थिक वर्षमा दर्ता भएका ५२७ मुद्धामध्ये १७ वटा फस्यौट भएका छन् भने अंघिल्लो आर्थिक वर्षमा फस्यौट हुन बाँकी रहेका ५२४ मुद्धा मध्ये यो दुई महिनाको अवधिमा ७८ वटा मुद्धा फस्र्यौट भएको अदालतले जनाएको छ ।

चालु आर्थिक वर्षमा उच्च अदालत तल्लसीपुर बुटवल ईजलासले १ हजार ९५५ वटा नयाँ मुद्धा दर्ता हुने छन् भने अघिल्लो आर्थिक वर्षमा बाँकी रहेका ५२४ गरी २ हजार ४७९ वटा मुद्धा रहने अदालतले पूर्वानुमान गरेको छ । त्यसमध्ये ७० प्रतिशत मुद्धा फस्र्याैट गर्ने लक्ष्य लिईएको छ ।

उच्च अदालत तुल्सीपुर बुटवल ईजलासले शुक्रबार अदालतमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा बोल्दै बुटवल ईजलासका न्यायधिश कुमारप्रसाद पोखरेलले न्याय सम्पादनलाई सहज र सरल बनाउन न्यायधिशका अपेक्षा र जनताका अपेक्षा साटासाट गर्न जनताको घरदैलोमा जान शुरु गरिएको बताउनु भयो । उहाँले व्यक्ति दोषी नै भएपनि मिसिलबाट दोषी प्रमाणित नभएमा त्यस्ता व्यक्तिले अदालतबाट सफाई पाउने बताउनु भयो ।