गुराँस फक्रिने क्षेत्रमा प्रदेशको बगैंचा


हेटौंडा,(नेस)
गर्मीमा चिसो खान र जाडोमा हिउँ खेल्न उपयुक्त गन्तव्य हो उत्तरी मकवानपुरको दामन । गुराँस फूल्ने, काफल पाक्ने मौसम त्यहाँको रमणीय वातावरण हो । बनभरि रातो, सेतो र गुलाबी गुराँस ढकमक्क फुल्छन्, शान्त ठाउँ । टाढा÷टाढा कराएका कोइली पनि नजिकै जस्तो लाग्ने । काठमाडौंको कोलाहलले डम्मिएका कान दामन पुगेपछि बल्ल खुल्छन् ।

मकवानपुरको परिचय दिने सोही क्षेत्रवरिपरि विश्व पर्यटन दिवसको अवसरमा प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका सात मन्त्रीले वृक्षरोपण गरेर बगैंचा निर्माण शुरु गर्नुभएको छ । त्यहाँ स्थापित बोर्डसँगै झण्डोत्तोलन पनि गरिएको छ ।

प्रदेश–३ सरकारले ‘घुम्न जाऔं दामन’ नारासहित मकवानपुरको चिसो उत्तरी क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना बनाउने योजनाअन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिका झिरघारीमा बिहीबार बगैंचा निर्माण शुरु गरेको हो ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले विश्व पर्यटन दिवसमा प्रदेशको पहिलो कार्यक्रम गरिएको भन्दै समग्र उत्तरी क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना बनाइने बताउनुभयो । पर्यटन विकासको गुरुयोजनाभित्र २० वर्षअघि स्थापना भएको मैत्री बगैंचा पनि पर्नेछ । बगैंचा व्यबस्थापनका लागि प्रदेश सरकारले २५ लाख र गाउँपालिकाले २० लाख रुपियाँ लगानी गर्नेछन् ।

उद्योग, बन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश सरकारले १० स्थान छनौट गरी पर्यटकीय गन्तव्य बनाउने जानकारी दिनुभयो । दामनको सीमभञ्ज्याङबाट चिल्लाङको चन्द्रागिरिसम्म पर्यटकीय क्षेत्र विकास गरिने छ । मकवानपुरको सबभन्दा अग्लो भञ्ज्याङ हो–सीमभञ्ज्याङ । २ हजार ४ सय ८८ मिटर उचाईंमा उक्त स्थान छ ।

प्रदेश सरकारले १३ जिल्लालाई लक्षित गर्दै १० हिल स्टेसन बनाउने छ । प्रत्येक स्टेसनमा ३ करोड खर्च हुने अनुमान छ । दामन, सूर्यादय र सूर्यास्तको भ्यु हेर्न पनि राम्रो ठाउँ हो । त्यसको लागि भ्युटावरको व्यबस्था गरिएको छ । सूर्योदय हेर्न विहान उठ्यौं भने पूर्व क्षितिजमा पहेंलो, रातो रंग बनाउँदै सूर्य फुत्त निस्किन्छ । उत्तरतिर देखिने सुनौला हिमाल पनि हेर्नलायक हुन्छन् । त्यही दृष्य हेर्न स्वदेशी र विदेशी पर्यटक त्यहाँ जाने गर्छन् ।

विहान चिसो हुन्छ त्यहाँ । लुगलुग आँतै कमाउने । त्यसैले जुनसुकै मौसममा गए पनि न्यानो कपडा बोक्नैपर्छ । काठमाडौंमा बढ्दो गर्मी छल्न दामन उपयुक्त गन्तव्य हो । गर्मी छल्नमात्र होइन, त्यहाँबाट तराई, पहाड र हिमालका दृष्यसमेत देखिन्छन् ।

त्यहाँबाट नेपालका ८ हजार मिटर भन्दामाथिका ८ वटा हिमाल हेर्न सकिन्छ । नयाँ वर्ष र हिउँ परेको बेला मानिसको भीड लाग्छ सीमभञ्ज्याङमा । मैत्री बगैंचामा पिकनिक मनाउने निकै हुन्छन् । त्यतिमात्र होइन, फिल्म र म्युजिक भिडियो सुटिङका लागि पनि रमाइलो छ । तराईको गर्मीमा पिल्सिएकाहरु पनि सजिलै आउन सक्छन् । बीरगञ्जबाट लगभग १ सय किमी उत्तरमा छ दामन । हेटौंडाबाट लगभग ५५ किलोमिटर उत्तर ।

त्यहाँबाट साइक्लिङिको मज्जा लिँदै हेटौंडा वा मार्खुु हुँदै कुलेखानीमा माछा मार्न र बोटिङ गर्न जान सकिन्छ । दामनबाट मार्खुसम्म ओरालो र त्यसपछि तेर्साे छ बाटो । दामनमा गएर रक क्लाइम्बिङ, प्याराग्लाइडिङसमेत गर्न सकिनेछ । हिन्दुका लागि ऋषेश्वर महादेव र बौद्धमार्गीका गुम्बा अर्काे आकर्षण हो । गुराँसे जंगलको बाटो हुँदै ऋषेश्वर मन्दिर र गुम्बा जान सकिन्छ । मन्दिरमा फागु र कोजाग्रत पूर्णिमा मेला लाग्छ ।