गति लिन सकेन सरसफाइ अभियानले


महेश न्यौपाने,रोल्पा
खुला दिसामुक्त घोषणा भएको तीन वर्ष वितिसक्दा समेत रोल्पा जिल्लाको पूर्ण सरसफाई अभियानले गति लिन सकेको छैन । खुलादिसामुक्त घोषणा संगै पूर्ण सरसफाई अभियानमा जुटेको भनिए पनि परिणाम देखिने गरि काम नहुदा अभियान सुस्ताएको हो की भन्दै जिल्लावासीले प्रश्न उठाउन थालेका छन ।
उप राष्ट्रपति नन्दवहादुर पुनको प्रमुख आतिथ्यतामा २०७२ साल पौष ९ गते रोल्पालाई देशकै २८ औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

खुलादिसामुक्त घोषणा पश्चात जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले पूर्ण सरसफाई संवन्धि ६ वर्षे रणनीतिक योजना वनाएको थियो । रणनीतिक योजना अनुसार सन् २०१७ मा २ र सन २०१८ मा ३ वटा साविक गाविस पूर्ण सरसफाई उन्मुख घोषणा गर्नु पर्ने भए पनि हाल एउटा गाविस पनि घोषणा हुन नसकेको वताइएको छ ।

लक्ष्य अनुसार तोकिएको समयमा घोषणा गर्नु पर्ने गाविस घोषणा नहुदा आशंका देखिएको छ खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन । खुलादिसामुक्त अभियानले जुन गति लिएको थियो पूर्ण सरसफाई अभियानमा त्यस्तो उत्साह देखिदैन आचार्यले भनिन ।

लामो समय प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा सवैको ध्यान जाँदा तोकिएको समयमा पूर्ण सरसफाई अभियान संचालन हुन नसकेको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय रोल्पाका सरसफाइ फोकल पर्सन डिल्लीराज न्यौपानेको भनाई छ । स्थानीय तहको निर्वाचन पछि नव निर्वाचित जनप्रतिनिधिहरुलाई पूर्ण सरसफाईको तालिम दिने तथा स्थानीय तह स्तरीय सरसफाई समिति गठन गर्ने काम भईसकेकोले अव स्थानीय सरकारको अगुवाईमा अभियानले तिव्रता लिने न्यौपानेले आशा व्यक्त गरे ।

जिल्ला समन्वय समिति, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय तथा सरसफाईको क्षेत्रमा कृयाशील गैर सरकारी संस्था र परियोजनाहरुले जिल्लामा पूर्ण सरसफाईको काम गरिरहेको वताईको छ । चाडपर्व सकिने वित्तिकै साविकका घर्तीगाउँ, ओत, भावाङ, रांसी, ह्वामा, घोडागाउँ , कुरेली वडाचौर, जिनावाङ र गुम्चालका १० वटा वडा लाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गर्ने तयारी भैरहेको न्यौपानेले जानकारी दिए ।

जिल्लालाई खुला दिसामुक्त गरिएसंगै झाडापखाला, आउँ, कमलपित्त लगायतका विरामीको संख्या घटेको वताइएको छ । स्वास्थ्यमा सुधार हुनुको साथै वाटाघाटामा खुला रुपमा दिसा देखिन छाडे संगै वातावरणीय सरसफाईमा समेत सुधार भएको छ । सदरमुकाम लगायत वजार क्षेत्रमा निर्माण गरिएका सौचालयको प्रयोग र व्यवस्थापनमा देखिएको समस्या एवम वजार क्षेत्रमा खुला ठाउँमा देखिने दिसाले भने अभियानमाथि नै प्रश्न उठ्न सक्ने वताइएको छ ।

जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति ले जिल्ला स्तरीय पूर्ण सरसफाई रणनैतिक योजना तयार गरि कार्यान्वयन गरिरहेको छ । स्थानीय तह र वडा स्तरमा समेत सो योजना वनाई कार्यान्वयन गर्न जनप्रतिनिधिहरुले चासो देखाउन थालेका छन । जिल्लालाई खुला दिसामुक्त घोषणा गरेसंगै सुस्ताएको सरसफाई अभियानले नयाँ जनप्रतिनिधि पाए संगै तिव्रता पाउने अपेक्षा गरिएको छ ।

रोल्पा जिल्लालाई सन् २०२२ भित्र पूर्ण सरसफाई उन्मुख जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय रोल्पाले वताएको छ ।