भोलिदेखि घरटहरा भत्काइने


मोतीराम तिमल्सिना, काभ्रे
अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिकाको साँगा देखि धुलिखेल नगरपालिकाको बसपार्कसम्म राजमार्ग सिमाना भित्र निर्माण भएका संरचना खाली गर्न सडक विभाग र नगरपालिकाहरुले तिब्र तयारी गरेका छन् ।

आगामी असोज १५ गते सोमबार विहान देखि घर टहरा सबै भत्काउने निर्णय गरेको छ । बनेपा नगरपालिका वडा नम्वर १३ मा २८ वटा, वडा नम्वर १४ मा ५१ वटा र वडा नम्वर १० मा ४४ वटा घर टहरा भत्काउने लगत कसिएको छ । त्यस्तै धुलिखेल नगरपालिकाका वडा नम्वर ३, ४ र ६ मा ३१ वटा गरी अरनिको राजमार्गको साँगा देखि धुलिखेलसम्म १ सय ५६ वटा घर टहरा भत्काउने निर्णय भएको छ ।

२०३१ साल अघि बनेका ५६ वटा घर टहराको मुआब्जा दिएर मात्रै भत्किने भएका छन् २०३१ साल पछि बनेका सबै संरचना भत्काउन अन्तिम पल्ट दुई दिनको अवसर दिईएको हो । पटक पटक भएको छलफल, सार्वजनिक सूचना, लगत संकलन र रेखांकन तथा सिमांकनको काम सम्पन्न भएपछि अतिक्रमण गरिएका क्षेत्रहरुमा आफै संरचना खाली गर्न सडक विभाग र नगरपालिकाहरुले अनुरोध गरेका छन् । निर्माण भएका संरचना खाली नगरेमा त्यसको क्षतिपुर्ति समेत असुल उपर गरी संरचना भत्काउने गरी सूचना प्रकाशन गरिएको सडक विभागका डिई गुरुप्रसाद अधिकारीले बताए ।

राजमार्गमा २५ मिटर अथार्त ८२ फुट कायम हुने तर बनेपाको केहि क्षेत्रमा भने सर्वाेच्च अदालतको फैसलाका आधारमा तत्काललाई ७५ फुट मात्रै कायम गर्ने गरी अतिक्रमण गरिएका संरचना हटाउने तयारी गरिएको छ । सरकारले राजमार्ग ८२ फुटकै निर्माण गर्नु पर्ने तर त्यसका लागि २५ गज अथार्त ७५ फुटको मुआब्जा दिन नपर्ने र बाँकी ७ फुटको मुआब्जा दिई सडक फराकिलो बनाउन सक्ने सर्वाेच्चको आदेश छ ।

बनेपाको चण्डेश्वरी खोला उता धुलिखेलसम्मको हकमा २५ मिटर नै कायम भएको छ । २०३१ साल भन्दा अघि निर्माण भएका घरहरुको हकमा भने नेपाल सरकारले क्षतिपुर्ति दिएर मात्रै भत्काउन सक्ने ब्यवस्था छ ।

साँगा देखि धुलिखेलसम्मका वडाहरुले अहिले २०३१ साल अघि निर्माण भएका संरचनाहरुको लगत संकलन गरी मुल्यांकन गर्ने काम भवन तथा डिभिजन कार्यालय मार्फत गराईरहेका छन् । मुल्यांकनको काम सम्पन्न भएपछि क्षतिपुर्ति उपलब्ध गराएर २०३१ साल भन्दा अघिका संरचना भत्काउने र पछिका संरचनालाई त्यसै भत्काउने तयारी गरिएको छ ।

राजमार्गको सिमानामा पर्ने प्रहरी चौकी साँगा, रेञ्जपोष्ट कार्यालय जनागाल लगायतका सरकारी संरचना भत्कने छन् भने चारदोबाटोमा रहेको पुरानो २०३१ साल भन्दा अघिको घरलाई समेत क्षतिपुर्ति उपलब्ध गराएर भत्काईने तयारी गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रजिअ कृष्णबहादुर राउत, सडक विभागका डिई अधिकारी, नगर प्रमुख लक्ष्ग्मीनरसिं बादे, एसपी रविराज खड्का, नगर उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरे, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । यस अघि विपी राजमार्गको धुलिखेल देखि नेपालथोकसम्मको संरचना हटाईसकिएको छ ।