पर्सामा फेरि लियो हात्तीले ज्यान


कृष्णउदास खनाल, वीरगन्ज
पर्सामा फेरि जंगली हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ।

जिल्लाको ठोरी गाउपालिका–३ शिकारीबासमा एक सुस्त मनस्थितिकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। शिकारी बासमा रहेको विद्यालय नजिकै शुक्रबार राति १२ बजेको समयमा मागेर जीविका चलाउदै आएकी महिलाको ज्यान हात्तीले लिएको हो । उनी कतैबाट ठोरीमा आई मागेर जीविका चलाउने गरेको पाइएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । ठोरी गाउँ पालिका मात्र एक महिनामा जंगली हात्तीको आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ भने गएको बैशाख महिनामा मेला हेर्न गएको तीन जना तिर्थालुको पनि हात्तीको आक्रमणमा परि मृत्यु भएको थियो ।

यसैबीच वीरगन्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा एक व्यक्तिलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको छ । मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो । तर गोली नलागेकाले साह सकुशल छन् । कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेको थियो ।

साह भारत पूर्वीचम्पारण निवासी हुन् । उनी कोइला सम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेज वीरगञ्जमा म्यानेजरको रुपमा कार्यरत छन् । उनलाई गोली कसले हान्यो र किन हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी सत्यनारायण थापाले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिए ।घटनास्थल भारतीय सीमा क्षेत्रभन्दा ५० मिटर वर पर्दछ । गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ ।