दशैं मनाउने रहर शोकमा बदलिएपछि…


नरेन्द्र केसी, घोराही, दाङ
वर्षात् हटेसँगै विस्तारै दशैंको रौनक शुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दशैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । छोरी शेमकुमारी, बुहारी निना र बुहारी र माइला छोराकी माइली छोरी रोजिना शनिबार सबैरै घर रंगाउने माटो खन्न हिँडे ।

दोलही खोलाको किनारामा रातो माटो पाइने भएकाले उनीहरु त्यसैतर्फ लागे ।
माटो खनेर फर्कने समय भए पनि छोरी, बुहारी र नातिनी नफर्केपछि शिवचरण्को मनमा चिसो पसिसकेको थियो– कुनै दुर्घटना त भएन । निनाको सानो चार वर्षीय छोराले आमा खोज्न थालिसकेको थियो तर उनीहरु फर्केनन् । केहीबेरमै उनीहरु माटो खन्ने क्रममा पुरिएको खबर आयो । गाउँलेहरु पुग्दासम्म उनीहरुको निधन भइसकेको थियो ।

दशैंको स्वागत गर्ने तयारीस्वरुप घर लिप्ने माटो लिन गएका एकै घरका तीन जनाको एकैसाथ मृत्यु भएपछि अहिले मौरीघाट शोकमा डुबेको छ । घटनालगत्तै बेहोस भएका शिवचरण र उहाँकी श्रीमती लामो समयपछि होसमा आए पनि परिवारसहित सिंगो गाउँ शोकमा डुबेको छ ।

दशैंको स्वागत गर्ने तयारीस्वरुप घर लिप्ने माटो लिन गएका एकै घरका तीन जनाको एकैसाथ मृत्यु भएपछि अहिले मौरीघाट शोकमा डुबेको छ ।

 

मृतकमध्ये शेमकुमारी शिवचरणकी ३० वर्षीया छोरी हुन्, जो अहिलेसम्म विवाह नगरेर आफ्नो व्यक्तित्व विकास र बाबुआमाको सेवामा जुट्नुभएको थियो । प्राविधिक शिक्षा अध्ययन गरेर स्थानीय जनहित युवा क्लबमा कोषाध्यक्ष रहनुभएकी उहाँ सामाजिक काममा पनि जुट्नुभएको थियो । अर्की मृतक ३५ वर्षीया निना चौधरी शिवचरणकी कान्छी बुहारी हुनुहुन्छ, उहाँका श्रीमान् सुवासचन्द्र चौधरी वैदेशिक रोजगारीमा जानुभएको छ । निनाका चार वर्षीय छोरा रहेका छन् ।

यो घटनामा ज्यान गुमाउने १२ वर्षीया रोजिना चौधरी शिवचरणका माइला छोरा राजकुमारीकी छोरी हुनुहुन्छ । उहाँ पनि माइली छोरी हुनुहुन्छ । उहाँ मावि मौरीघाटमा कक्षा ७ मा अध्ययन हुनुहुन्थ्यो । यसअघि पटकपटक घटना भएकाले स्थानीयले सचेत गराउँदागराउँदै पनि राम्रो माटो हुने भएकाले धेरै माटो लिन जाने गरको स्थानीय दयाराम चौधरीले जानकारी दिनुभयो । यसअघि पनि पटकपटक यो ठाउँमा घटना भएको थियो । पाँच वर्षअघि पनि माटो खन्ने क्रममा कमला मल्लको निधन भएको थियो भने दुई जना घाइते भएका थिए ।

सामान्य सावधानी नअपनाउँदा माटोको ढिस्कोमा पुरिएर ज्यान गुमाउनेको संख्या धेरै छ । माटो खन्दा सामान्य सावधानी अपनाउने हो भने अकाल मृत्यु रोक्न सकिने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी खिलानाथ दाहालले बताउनुभयो ।

‘ओडार भएको ठाउँमा माटो खन्न नपस्ने, धेरै गहिरो खाडल हुने गरी माटो नखन्ने हो भने अकाल मृत्युबाट जोगिन सकिन्छ’, उहाँले भन्नुभयो– ‘माटो खन्दा जोखिम हुन्छ भने त्यस ठाउँमा नजाने, गहिरो खाडल भएको ठाउँमा नपस्ने, समथर ठाउँमा खन्ने गर्नुपर्छ ।’ चाड पर्वको बेला ढिस्कोमा पुरिएर मृत्यु हुन सक्ने भन्दै सार्वजनिक सूचना जारी गरिएको छ । त्यसो त व्यक्तिको निजी जग्गा पर्ने भएकाले जग्गाधनीले पनि पटकपटक माटो नखन्न भन्दै आएका थिए ।

फोटो