१७ हजार मलेसिया जान रोकिए


काठमाडौं । सरकार र मलेसियाबीच कामदारका विषयमा नयाँ सहमति भएपछि भिसा लागेका १७ हजार युवाको भिसा रद्द हुने भएको छ । उनीहरुले मलेसिया जानका लागि नयाँ प्रक्रिया अनुसार फेरि भिसा लगाउन सरकारले आग्रह गरेको छ ।

श्रम शोषण गरेको भन्दै नेपाल सरकारले मलेसिया जान रोक लगाएपछि मलेसिया सरकारकै पहलमा नयाँ समझदारी भएको हो । सोही अनुसार अब कामदार जाने प्रक्रिया पनि नयाँ पद्धति अनुसार नै हुने भएको छ ।

यसअघि भिसा प्रक्रिया पूरा गरेका १७ हजार युवाहरु रहेका छन् । उनीहरु सरकारले मलेसिया जान रोक लगाएपछि रोकिएका थिए । उनीहरुको भिसा प्रमाणित भइसकेको भएपनि अब मलेसिया जानका लागि भने नयाँ प्रक्रिया अपनाउनु पर्ने भएको हो ।

सरकारले गत २ जेठबाट मलेसियाका लागि नयाँ श्रम स्वीकृति जारी नगरेपछि भिसा लागेर पनि मलेसिया जान नपाएका कामदारले फेरि सुरुदेखि नै प्रक्रिया अपनाउनु पर्ने भएको मलेसियाका लागि नेपालका राजदूत कुमारराज खरेलले जानकारी दिएका छन् ।