महानगरका सचिवालय प्रमुखको सहकारी विभागमा सरुवा


काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सचिवालय प्रमुख निर्देशक नवराज ढकाललाई सरुवा गर्नुभएको छ । मेयरसँग भेट गर्न आउने महानगरबासीलाई भेट गर्न नदिएको र सचिवालयमा आफूखुसी काम गरेको गुनासो बढेपछि मेयर शाक्यले ढकाललाई हटाउनुभएको हो ।

कामपा उच्च स्रोतका अनुसार ढकालले अधिकांस नगरवासीको कुनै पनि गुनासोको सुनुवाइ नगर्ने र सचिवालयमा आएको फाइललाई समेत थन्क्याएर राख्ने गरेको जानकारी आएपछि ढकाललाई सरुवा गरेको हो । उहाँलाई महानगरको सहकारी विभागमा सरुवा गरिएको छ । गएको ९ नौ गतेको निर्णयअनुसार सरुवा गरिएको हो । निर्देशक ढकालले हालसम्म पत्र बुझ्नुभएको छैन ।

‘जनप्रतिनिधिको समेत गुनासो आउन थालेपछि ढकाललाई सरुवा गरिएको हो’ –स्रोतले नेपाल समाचापत्रसँग भन्यो । मानव संशाधन महाशाखाको समेत जिम्मेवारी पाउँदा जनप्रतिनिधि र कर्मचारीको तालिममा समेत मनपरी गरेको गुनासो मेयरसमक्ष पुगेको थियो । उहाँको विषयमा जनप्रतिनिधि र महानगरबासीको गुनासो आएपछि सरुवा गरिएको हो । सचिवालयको प्रमुखसँगै उहाँलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको थियो । हालसम सहप्रवक्ताको जिम्मेवारीबाट हटाइएको छैन । सहकारी विभागमा सरुवा भएसँगै सहप्रवक्ताको जिम्मा अन्य कर्मचारीलाई दिने तयारी भएको छ ।

त्यस्तै एक वर्षदेखि महानगरपालिका प्रहरीको साइरन जडिट गाडी प्रयोग गर्दै आउनुभएका ढकालले हालसम्म सो गाडी फिर्ता दिनुभएको छैन । महानगरपालिकाले सो गाडी फिर्ता गर्न पटकपटक आग्रह गर्दा समेत उहाँले फिर्ता दिनुभएको छैन । स्रोतका अनुसार बा२झ २७२७ नम्बरको टाटा जेनन गाडी उहाँले प्रयोग गर्दै आउनुभएको छ । उहाँ नुवाकोटदेखि धादिङलगायतका विभिन्न जिल्ला र व्यक्तिगत कामको प्रयोजन भ्रमणमा निस्कँदा सोही सवारीसधान प्रयोग गर्ने गर्नुभएको स्रोतले जनाएको छ ।

प्रहरीले अनुगमन र विभिन्न कामका लागि प्रयोग गर्दै आएको साइरन जडित सो गाडी फिर्ता नहुँदा प्रहरीको काममा समेत समस्या परेको छ । गाडी फिर्ता नदिएको विषयमा निर्देशक ढकालसँग जानकारी लिन खोज्दा भन्नुभयो– ‘मैले सचिवालयको कामका लागि चढेको हँु, व्यक्तिगत कामको लागि होइन ।’ प्रहरीको सवारीसाधन चढ्न मिल्छ त भन्ने प्रश्नमा उहाँले उत्तर दिनुभयो– ‘सो गाडीले मलाई ल्याउने र पु¥याउने कामको लागि प्रयोग गर्छ अहिले यति मात्रै भन्छु ।’ प्रहरीको सवारीसाधन दुरुपयोग गरेको विषयमा प्रशासन विभागमा समेत गुनासो पुगेको थियो । तर मेयरको सचिवालय प्रमुख भएको हैसियत देखाउँदै गाडी फिर्ता गर्नुभएको छैन । ‘अब सरुवा भएपछि फिर्ता गर्नुहुन्छ कि’ –एक कर्मचारीले भने ।