शिक्षक परीक्षा दिन गएपछि गाउँलेले चलाए विद्यालय


गंगा बराल, काठमाडौं
अहिले धेरैजसो विद्यालयमा शिक्षक शिक्षक सेवा आयोगले लिँदै गरेको स्थायी शिक्षकको परीक्षा दिन गएपछि विद्यालयहरुमा पठनपाठन बन्द भएका छन् तर भोजपुरको अरुण गाउँपालिकाको चम्पे माविमा भने विद्यालय व्यवस्थापन समितिले स्थानीय व्यक्तिको सहयोगमा पठनपाठन सुचारु गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य राम आचार्यले विद्यालय अरु दिनजस्तै सञ्चालन भएको बताउनुभयो । विज्ञान र गणित पढाउने शिक्षक नपाएकाले ती विषय भने पढाइ नभएको उहाँले जनाउनुभयो । आचार्यले अलिकति जटील विषय भएकाले ती विषयको शिक्षक पाउन नसकिएको बताउनुभयो । विद्यालयमा १४ शिक्षक रहेकामा १ जना शिक्षकको दरबन्दी रिक्त छ भने अर्का १ शिक्षक अध्ययन बिदामा भएकाले १२ जनाले माबि चलाउँदै आएको प्रधानाध्यापक नेत्रप्रसाद ढकालले बताउनुभयो ।

१४ मध्ये ६ जना मावि र निमाविका शिक्षकहरु परीक्षा दिन गएको शिक्षक दीपकप्रसाद भट्टराईले बताउनुभयो । ‘प्राबिका शिक्षकहरुले पढाइरहनुभएको छ, अभिभावक र व्यवस्थापन समितिले स्कुल सञ्चालनमा सहयोग गरेको छ’, शिक्षक भट्टराईले भन्नुभयो– ‘हामी सबैजसो शिक्षकहरु आइतबारबाट विद्यालयमा हाजिर हुन्छौं, १ हप्तासम्म त्यसरी नै बिद्यालय चल्यो ।’ बिहीबार, शुक्रबारको परीक्षा सकिएको छ भने आज पनि परीक्षा रहेको छ । विद्यालयले सदा झैं अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार हाजिरीजवाफ प्रतियोगिता भएको व्यवस्थापन समिति सदस्य आचार्यले बताउनुभयो ।

वडा नम्बर २ मा रहेको यो विद्यालयमा वडाध्यक्ष भूपेन्द्र राइले दिनहँुजसो आएर कक्षा अवलोकन गर्नुका साथै पढाइप्रति विद्यार्थीलाई प्रोत्साहन गर्नुभएको विद्यालयले जनाएको छ । पढाउने शिक्षकको खोजीमा पनि लाग्नुभएको थियो ।
२००६ सालमा स्थापना भएर २० वर्षअघि मावि भएको यो विद्यालयमा ४ सय ६५ विद्यार्थी अध्ययनरत छन् । पूर्वमन्त्री तथा संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद कृपासुर शेर्पाले व्यवस्थापन समितिको काम उदाहरणीय भएको टिप्पणी गर्नुभयो ।