क्याम्बियम नेपाल रोड शो २०१८ सम्पन्न


नेपाल समाचारपत्र, पोखरा
फस्ट लिंक प्रालि र क्याम्बियम नेटवक्र्सद्वारा लेकसाइडमा आयोजित ‘क्याम्बियम नेपाल रोड शो २०१८’ कार्यक्रम सम्पन्न भएको छ । शहरी तथा ग्रामिण भेगलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा क्याम्बियमका विभिन्न उत्पादन तथा हिमाल, पहाड र तराईलाई प्रविधिको माध्यमबाट जोड्न सकिने उपायबारे जानकारी दिइएको थियो । नेपालमा क्याम्बियमको घरायसी, अफिसियल, इन्डष्ट्रियल प्रयोजनका राउटर तथा अन्य वायरलेस उत्पादनहरु छन् ।

सोही कार्यक्रममा प्रदेश नम्बर ४ का भौतिक पुर्वाधार विकासमन्त्री रामशरण बस्नेतले नयाँ प्रविधि ल्याउन प्रदेश सरकार सधैं तत्पर रहेको बताउनुभयो । प्रदेशका सबै मन्त्रालयमा अत्याधुनिक प्रविधि प्रयोग गरी आम जनतालाई सेवा दिने बताउँदै उहाँले ४ नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने प्रतिबद्धता दोहो¥याउनुभयो । बजेटमा नै स्मार्ट सिटीको अवधारणा ल्याइएकाले अहिले जताततै स्मार्ट सिटी तथा स्मार्ट गाउँबारे छलफल भइरहेको मन्त्री बस्नेतको भनाइ थियो ।

क्याम्बियमको नेपालका लागि आधिकारिक वितरक फस्ट लिंक प्रालिका प्रबन्ध निर्देशक अमित थापा क्षेत्रीले प्राविधिक क्षेत्रको विकास तथा उत्थानमा फस्ट लिंंकले सहयोग गरिरहेको जानकारी दिनुभयो । फस्ट लिंकले विगत ४ वर्षदेखि आइटी क्षेत्रको विकासका लागि विभिन्न उत्पादनहरु आयात गरी सेवा दिइरहेको छ । क्याम्बियम नेटवक्र्सको सार्क क्षेत्रका भाइस प्रेसिडेन्ट राजीव कपुर र क्षेत्रीय व्यवस्थापक सुनित सक्सेनाले क्याम्बियमका विभिन्न उत्पादनबारे प्रकाश पार्नुभएको थियो ।

स्मार्ट सिटीबारे समेत भएको छलफलमा सुबिसु केवल नेट प्रालिका अध्यक्ष सुधिर पराजुली, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)की उपाध्यक्ष सुनैना पाण्डे र पोखरा महानगरपालिकाका सूचना अधिकृत गंगालाल सुवेदीले पनि बोल्नुभएको थियो । स्मार्ट सिटिका लागि आइटी मात्र नभएर अन्य सुचकांकलाई पनि विस्तार गर्नुपर्ने, जनताको सोचमा परिवर्तन आउनुपर्ने तथा प्राइभेट पब्लिक पार्टनरसीपका आधारमा स्मार्ट सिटी अवधारणालाई अघि बढाउनुपर्ने छलफलको निष्कर्ष थियो ।
कार्यक्रममा पोखराका विभिन्न होटल, बैंक, फाइनान्स, नगरपालिका, गाउँपालिका, इन्टरनेट सर्भिस प्रोभाईडर तथा अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।