तातोपानी कुण्डमा बिरामीको चाप


प्रताप बानियाँ, म्याग्दी
वर्षायाम सकिएर बिरामीको चाप बढ्दै जान थालेपछि तातोपानी कुण्डमा बिरामीहरुले स्नान गर्नका लागि नयाँ समयतालिका निर्धारण भएको छ । प्राकृतिक चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डमा डुब्न समय व्यवस्थापन गरिएको हो ।

पछिल्लोपटक कुण्डमा आउने बिरामीको चाप बढेपछि तातोपानी कुण्ड व्यवस्थापन समितिद्वारा महिला र पुरुषले स्नान गर्न छुट्टाछुट्टै पालो बनाइएको छ । म्याग्दी जिल्लासहित देशका विभिन्न स्थानबाट दिनहुँजसो कुण्डमा नुहाउन भनेर आउने बिरामीको भीड बढ्दै गएपछि महिला र पुरुषले नुहाउन आइतबारदेखि फरकफरक समय छुट्याइएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

दैनिक रुपमा साढे पाँच घण्टाका दरले महिला र पुरुषलाई छुट्टाछुट्टै समयमा तातोपानी कुण्डमा डुबुल्की मार्ने व्यवस्था मिलाइएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो । हरेक दिन बिहान ६ बजेदेखि बेलुका साढे ४ बजेसम्म कुण्डमा स्नान गर्न सकिने उहाँले जानकारी दिनुभयो । महिला र पुरुष दुवैले पालैपालो हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा स्नान गर्ने गर्दछन् । कुण्डमा डुब्नका लागि समितिले टिकटको व्यवस्था गरेको छ । १ दिनका लागि ५० रुपैयाँको टिकट लिए पनि प्रतिव्यक्ति तीनसय रुपैयाँ तिरेमा ११ दिनसम्म डुब्न पाइने व्यवस्था रहेको छ ।

कुण्डमा डुब्न भन्दै यसपटक पूर्वी नेपालको मोरङ र सिन्धुपाल्चोक जिल्लाबाट बिरामीहरु आएको कुण्ड व्यवस्थापन समितिका सहसचिव केसीको भनाइ छ । नेपालको विभिन्न जिल्लाका साथै तातोपानी कुण्डमा नुहाउन ईन्डिया, जापान र बङ्गलादेशबाट समेत विदेशीहरु आउने गरेका छन् । यसैगरी पछिल्लो समय पर्यटकहरु पनि कुण्डमा स्नान गर्नका लागि आउँछन् । कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला रहन्छन् । तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहिआएको छ ।

कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु पटकपटक आउने गरेका छन् । स्वदेश तथा विदेशका ठूला र महङ्गा अस्पतालहरुमा लाखौं रुपैयाँ खर्चिएर पनि रोग निको नभएका बिरामीहरु तातोपानी कुण्डमा आएर डुबेपछि उनीहरु निको भएर फर्कन गरेको कुण्ड व्यवस्थापन समितिले बताएको छ । कुण्डमा गतवर्ष १६ हजार ९७८ जनाले स्नान गरेका थिए । वर्षेनी झण्डै ५० लाख रुपैयाँ आम्दानी हुने तातोपानी कुण्डबाट स्थानीय सरस्वती माध्यमिक विद्यालयमा अध्यापनरत ९ जना निजी शिक्षकको तलव भत्तामा लगानी गर्ने गरिएको छ । त्यस्तै बेनी नगरपालिकालाई वार्षिक रुपमा २५ प्रतिशत कर कुण्डले तिर्ने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो ।