ह्याम्सले पायो पुनर्जीवन


नेपाल समाचारपत्र, काठमाडौं
डा.उपेन्द्र देवकोटा र मधु घिमिरेले २१ वर्षअघि स्थापना गर्नुभएको ह्याम्स अस्पतालले अन्तर्राष्ट्रियस्तरको सेवा, सुबिधा र प्रबिधि सहित पुनर्जीवन पाएको छ । डा.भगवान कोइराला,डा. भोला रिजाल, अर्जुन कार्की, मानवहादुर केसी, प्रकााश सायमी लगायतका चर्चित विशेषज्ञ डाक्टरहरु सहित ह्याम्स अस्पताल सन्चालनमा आएको हो ।

धुम्बाराहीमा १५ रोपनी जग्गामा हेलिप्याड सहितको नवनिर्मित भवनबाट ह्याम्स अस्पतालले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सन्चालनमा ल्याएको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले बताउनुभयो । नेपालका बरिष्ठ डाक्टरहरु सहित ठूलो लगानीमा निर्मित अत्याधुनिक भवनबाट उपचार सेवा शुरु भइसकेकोे जानकारी दिनुभयो ।

सरकारी र निजी अस्पतालहरुलाई सर्जिकल लगायत मेडिकल उपकरण सप्लाई गर्ने व्यवसायी भण्डारीको पहलमा ह्याम्स अस्पताललाई पुनर्जीवन दिइएको डा. भगवान कोइरालाले बताउनुभयो । डा. भोला रिजालले एउटा गतिलो र अन्तर्राष्ट्रिस्तरको सेवा सुबिधा सहितको अस्पताल जनताले चाहेकाले आफू पनि ह्याम्समा जोडिएको बताउनुभयो ।

ठूलो लगानी र अन्तर्राष्ट्रियस्तरको प्रबिधि भित्र्याएर शुरु गरिएको ह्याम्स अस्पताल नेपालमा हाल चलिरहेका निजी क्षेत्रका अस्पतालहरुमध्ये केही बिधामा अत्याधुनिक रहेको भण्डारीले बताउनुभयो । उहाले मध्यम र निम्न वर्गका जनताको समेत पहुँच हुने गरि उपचारमा सहजीकरण गर्ने लक्ष्य राखिएको दावी गर्नुभयो । नेपाल सरकारको स्वास्थ्यमन्त्रालयले दिएका मापदण्ड अनुसार गरिव असहाय विरामीलाई सेवा उपलव्ध गराइने उहाको भनाई थियो ।

ह्याम्समा मुुटुरोग विशेषज्ञहरु डा. भगवान कोइराला, दिवाकर शर्मा, रोशन राउत, फोक्सो रोग विशेषज्ञ अर्जुन कार्कीले विशेषज्ञ सेवा शुरु गरेका छन् । त्यस्तै आइओएमका पूर्व डिन प्रकाश सायमी, गीता सायमीका साथै चर्चित स्त्रीरोग विशेषज्ञ पदमराज पन्त, युरोलोजीका चर्चित डाक्टर प्रेमराज ज्ञवाली पनि ह्याम्पसमा पुगेका छन् ।

डा भाष्करराज पन्त, विज्ञान भण्डारी, सन्दिप भण्डारी र प्रशान्त अधिकारी सहितको अर्थोपेडिक विशेषज्ञहरुको टिमले उपचार सेवा शुरु गरिसकेको भण्डारीले जानकारी दिए । त्यस्तै नाक कान घाँटी विशेषज्ञ डा. विमल सिन्हाको टिम पनि हाम्पसमा गएको छ ।
सिंगापुरबाट भर्खरै फर्किएकी छाती रोग विशेषज्ञ रक्षा पाण्डे, एम्स अस्पताल दिल्लीबाट विशेषज्ञता हासिल गरेका छातिरोग विशेषज्ञ डा. राजु पंगेनी, अमेरिकाबाट भर्खरै इन्फेक्सन डिजिजमा विशेषज्ञ हासिल गरेका अनुप सुवेदी लगायत नाम चलेका विशेषज्ञ डाक्टरहरुल ह्याम्समा जोडिएका छन् ।