इन्डोनेसियामा शक्तीशाली भुकम्पपछि सुनामी: त्रासदीका कारण भागदौड, कयौं भवन ढले


जाकार्ता (एजेन्सी)
इन्डोनेसियाको सुलावेसी द्विपमा शुक्रबार ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भुकम्प आएकोपछि सुनामी आएको छ । भुकम्प आएपछि देशको आपतकालिन राहत निकायले सुनामीको चेतावनी जारी गरेको तर पछि चेतावनी फिर्ता लिइयो । भुकम्पबाट कोही हताहत भएको समाचार नआएको बताइएको छ ।

इन्डोनेसियको जिओफिजिक्स डिपार्टमेन्टलाई उदृत गर्दै एएफपीले उक्त जानकारी दिएको हो । शक्तिशाली भुकम्पछि सुनामी आइरहेको उक्त विभागका प्रवक्ताले बताएका छन् ।
पालुमा सुनामी प्रवेश गरेको उनले बताएको एजेन्सीले जनाएको छ । पालु सरहमा सुनामीका कारण समुद्रमा ६ फिट अग्लो छाल उठेको एक स्थानिय न्युज च्यानलले जनाएको छ । उक्त छालका कारण त्यस इलाकामा बाढी आएको र कयौं भवन ध्वस्त भएको जनाइएको छ ।
विभागले उक्त क्षेत्रमा सुनामी आएको समाचारको पुष्टि गरेको छ । यस सम्बन्धमा थप जानकारी हासिल गर्ने प्रयास भइरहेको प्रवक्ताले बताए ।

इन्डोनेसियाको मौसम विभाग र जियो फिजिक्स डिपार्टमेन्टका प्रमुख द्विकोरिटा कर्णावतीले १ दशमल ५ देखि २ मिटर अग्ला छाल आएको रोयटर्सलाई बताए । अहिले यो समाप्त भइसकेको पनि उनले जानकारी दिए । त्यहाँको स्थिति तनावपुर्ण रहेको र मानिसहरु सडकमा भागदौड गरिरहेको उनले बताए । कयौं इलाकामा भवनहरु ढलेको पनि समाचार आइरहेको उनले थपे । इन्डोनेसियाको एक न्युज च्यानलले ठुल्ठुला छाल उठिरहेको र मानिसहरु चिच्याउँदै भागदौड गरिरहेको भिडियो जारी गरेको छ ।

राहत एजेन्सीका प्रमुख मुहम्मद साउगीले ठुला पानी जहाज र हेलिकप्टरलाई राहत कार्यमा परिचालन गरिएको जानकारी दिएका छन् । केही समस्याकाकारण पालु स्थित आफनो टोलीसँग सम्पर्क हुन नसेकेको पनि उनले बताए ।

अमेरिकी भुगर्भ सर्वेक्षणले मध्य सुलावेसीको डोंग्गाला इलाकाको १० किलोमिटरको गहिराइमा भुकम्पको केन्द्रबिन्दु रहेको जनाएको छ । यसको केहि घण्टा अगाडी मात्रै सोही क्षेत्रमा कम तिब्रताको भुकम्प आएको थियो जसमा कम्तिमा एक ब्यक्तीको मृत्यु भएको जनाइएको छ । उक्त भुकम्पको धक्का यसैबर्षको सुरुवाटमा लोमबोक द्विपमा आएको भुकम्पको भन्दा केही बढी थियो । जसमा सयौंजनाको मृत्यु भएको थियो ।

शुक्रबार आएको भुकम्पको केन्द्र पालु सहरबाट ७८ किलोमिटर दुरीमा रहेको जनाइएको छ । यो मध्य सुलावेसी प्रान्तको राजधानी हो । भुकम्पको धक्का केन्द्रबिन्दुबाट करिब ९ सय किलोमिटरको दुरीमा पर्ने दक्षिण स्थित द्विपको सबैभन्दा ठुलो शहर माकासर सम्म महसुस गरिएको थियो ।

पालुको दक्षिण स्थित करिब १सय ७५ किलोमिटर दुरीमा पर्ने तोराजाका निवासी लिसा सोबा पाल्लोनले शुक्रबार भुकम्पको महसुस गरेको बताइन् । अन्तिम झटका अत्यन्त शक्तिशाली रहेको उनले बताए । इन्डोनेसियको भौगोलिक स्थितिका कारण त्यहाँ भुकम्पको खतरा सधैँ हुने गर्छ । २००४ मा डिसेम्बरमा पश्चिमी इन्डोनेसियाको सुमात्रामा ९ दशमलव ३ म्याग्निच्युडको भुकम्प आएको थियो । उक्त भुकम्पका कारण आएको सुनामीका कारण हिन्द महासागर क्षेत्रमा पर्ने देशहरुमा २ लाख २० हजार जनाको मृत्यु भएको थियो ।