प्रदेश ७ को नाम र राजधानी दुईतिहाइले पारित


काठमाडाैं ।

प्रदेश ७ को प्रदेश सभाले प्रदेशको नाम र राजधानीको विवाद टुंग्याएको छ । प्रदेश ७ को आज बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम सुदूरपश्चिम र राजधानीको नाम कैलालीको गोदावरी राख्ने गरी दुईतिहाइले पारित गरेको छ ।

प्रदेशको नाम र राजधानीका विषयमा छलफल गर्न आज बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेस र राजपाको विरोध र रोस्टम घेराउका कारण १ बजेसम्मका लागि स्थगित भएको हो । त्यसपछि शुक्रबारै दोस्रोपटक बसेको बैठकमा यो विषय दुईतिहाइले टुंग्याएको थियो ।

प्रदेश ७ मा ५३ सांसद छन् । दुईतिहाइका लागि ३६ मत आवश्यक पर्ने भए पनि प्रस्तावको पक्षमा दुई मत बढी अर्थात् ३८ मत परेको थियो । मतदानमा प्रमुख विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका १४ सांसदले भने भाग लिएनन् ।

प्रदेश सभाले प्रदेशको नाम र राजधानी चयनका लागि सांसद तारा लामा तामाङको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो । सो समितिले दिएको प्रतिवेदनअनुसार नै प्रदेशको नाम र राजधानी पारित भएको हो ।

यसअघि कर्णाली र गण्डकी प्रदेशले आफ्नो नाम र राजधानी तोकिसकेका छन् । नाम र राजधानी टुंगो लगाउने प्रदेश ७ तेस्रो भएको छ ।