दशैँ लक्षित गर्दै देशका ४७ स्थानमा सस्तो पसल


काठमाडौं । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गरेसँगै उपभोक्तालाई सहज हुने भएको छ । विगत वर्षहरुमा जस्तै विभागले यस बर्षपनि दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएको छ । आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको तयारी छ ।

विभागका अनुसार, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान, विभागमा दर्ता भएका सहकारीले आफ्नै तरिकाले त्यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् । कतिपय स्थानमा भने विभागको नेतृत्वमा खाद्य, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानको संयुक्त पसल सञ्चालन हुँदैछ । यसरी सञ्चालन हुने सुपथ मूल्य पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट हुने विभागले जनाएको छ ।