महाकाली तटिय क्षेत्रमा सधै बाढीको त्रास


विनोद सिंह विष्ट, बैतडी
महाकाली नदी किनारमा रहेको बैतडीको दशरथचन्द नगरपालिका–६, सेराका बासिन्दा बर्खाको समयमा सधै बाढीको त्रासमा हुने गरेका छन् ।
बर्षेनी नदीले जमिन कटान गर्दै लगेको स्थानीय बासीन्दाको भनाई रहेको छ । बाढीले कुन दिन घर बगाउछ भनेर सेराका करिब एक सय परिवार सधै बाढीको त्रासमा हुन्छन् । गत वर्ष महाकाली नदीमा बाढी आउँदा ६ घर परिवार तीन दिनसम्म घर छोडेर आफन्तकोमा बसेको बताउँछन् ।

राती ठूलो बाढी आयो पुरै घर हल्लिन थाल्थ्यो घर नै हल्लिन थालेपछि राती नै घर छोडनु परेको स्थानीय देवदत्त पन्तले बताए । नदी छेउमा रहेका घरमा बर्खामा सुन्त डर लाग्ने गरेको उनको भनाइ छ । नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै लगेको छ । तटबन्धको राम्रो व्यवस्था नहुँदा बर्खामा समस्या हुने गरेको छ । मनसुनको समय सुरु भएपछि नदी तटीय क्षेत्रका बासिन्दा बाढीकै त्रासमै बाच्नुपर्ने नियति भोग्न बाध्य भएका छन् । रातिको समयमा भारी वर्षा भयो भने उनीहरु राम्ररी सुत्न पाउदैनन् ।

नेपाल–भारत सीमा नदी महाकाली किनारको उब्जाउ फाँट सेरा अन्न उत्पादनको लागि राम्रो मानिन्छ तर बर्षपिच्छे कटानमा पर्दै आएको छ । नदी किनारका स्थानीय बर्खामा मात्र होइन अन्य महिना समेत नदीको जोखिममा छन् । नदीमा बाढी आएको जानकारी दिने पूर्व सूचना प्रणाली नहुँदा झन समस्या भोग्दै आएका हुन् ।

भारतको धौलीगंगा र चमेलिया जनविद्युत् आयोजनाले बाँध खोल्दा पानीको सहत बढ्ने गरेको छ् । कुनै बेला नदीको सतह घट्छ कुनै बेला बढ्छ,’ स्थानीय कैलाश जोशीले भने, धौलीगंगा बाँध खोलेपछि पानीको सतह बढेर बगाउने चिन्ता लाग्ने गरेको छ ।’ नदी किनारमा माछा मार्न वा नुहाउन गएका बेलासमेत डर लाग्ने गरेको छ ।

सीमा पारी भारतले नदी किनारमा बसेकालाई बाढी आउँदा र बाँध खोल्दा सतर्क गराउने गरेको छ । तर सीमा वारी भने पानीको सहत बढेको जानकारी दिने पूर्व सूचना प्रणाली पनि छैन । सीमा क्षेत्रमा फोनले पनि काम गर्दैन फोनबाट जानकारी दिन पनि संम्भव नभएको स्थानीय बताउँछन् । नदीमा बाढी आए कसरी बच्ने, स्थानीय पूर्णानन्द जोशीले भने, कुन बेला बाढी आउछ थाहा नै हुदैन ।’

नदी किनारका बासिन्दा सधै त्रासमा छन्् । बाँध खोल्दा अचानक पानीको बहाव बढ्दा नदी किनारमा गएका बालबालिका समेत असुरक्षित हुने गरेको स्थानीय बताउँछन् । ‘नदी किनार तिर बालबालिका जाने चिन्ता सधै रहन्छ, वडा सदस्य सीता कार्कीले भन्नुभयो्, पानी पिउन र अहालको लागि लगेका गाईभैँसी समेत बगाउने डर हुन्छ ।’

उब्जाउ जमिन भएकाले यो ठाउँ छोडन नसकेको स्थानीय बताउँछन् । माछा र तरकारीबाट गुजारा गर्दै आएका आर्थिक अवस्था कमजोर भएका स्थानीय अन्यत्र सर्ने अवस्था समेत नभएको बताउँछन् । महाकाली किनारको बस्ती सेरा मात्र होइन दशरथचन्द नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिका क्षेत्रका नदी किनारका बासिन्दा सधै त्रासमा हुने गरेका छन् ।

नदीमा जल प्रवाहको स्तर खतराको संकेत दिने कुनै सयन्त्र नहुँदा तटिय क्षेत्रका बासिन्दा त्रासमा बस्न बाध्य हुन् । तटिय क्षेत्रमा तटबन्द र पूर्व सूचना प्रणालीको व्यवस्था भए सहज हुने स्थानीयको भनाइ छ । यस्तै डिलार्शैनी गाउँपालिकाका ६ स्थित हरिनगर बजार पनि बर्षेनी चमेलिया नदीको बाढीको चपेटामा पर्ने गरेको छ ।