भाडा वृद्धिको मारमा सर्वसाधारण


रमधन राई, खोटाङ,
खोटाङबाट सञ्चालन हुने सबै प्रकारका सवारी साधनको भाडा दर दश प्रतिशतले वृद्धि गरिएको छ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेसँगै व्यवसायीले मंगलबारबाट दश प्रतिशतले भाडा दर वृद्धि गरेको हो ।

जिल्लाका यातायात व्यवसायीले छोटो तथा लामो दूरीका सबै सवारी साधनको भाडा दर वृद्धि गरेसँगै दिक्तेलबाट काठमाडौं तथा काठमाडौंबाट दिक्तेलका लागि बसमार्फत एकतर्फी यात्रा गर्दा प्रति व्यक्ति भाडा एक हजार ३ सय २० रुपैंयाँ लाग्ने छ । यसअघि दिक्तेलबाट काठमाडौं तथा काठमाडौंबाट दिक्तेलका लागि एकतर्फी भाडा रु एक हजार २ सय लिने गरिएको थियो ।

नेपाल सरकार र यातायात व्यवसायीबीच भएको सहमती अनुसार दिक्तेल–गाईघाटका लागि बसको भाडा ८ सय ८०, दिक्तेल–भोजपुर ८ सय ८०, दिक्तेल–धरान एक हजार २ सय ९८ रुपैंयाँ भाडा निर्धारण गरिएको छ । यस्तै, दिक्तेल–बिराटनगर एक हजार ३ सय २०, दिक्तेल–कटारी ८ सय ८० र दिक्तेल–लहान एक हजार १२ रुपैंयाँ भाडा दर निर्धारण गरिएको छ । बससँगै जिपको पनि भाडा दर वृद्धि गरिएको खोटाङ यातायात प्रा.लि. का सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो ।

सचिव हिङ्माङका अनुसार जिपमार्फत दिक्तेल–काठमाडौंका लागि एक हजार ७ सय ५० कायम गरिएको छ । यसअघि जिपमार्फत सवार गर्ने यात्रुबाट दिक्तेल–काठमाडौंका लागि एक हजार ४ सय ५० लिइँदै आइएको थियो ।

व्यवसायीले ग्रामिण सडकमा सञ्चालन हुने बसको पनि भाडा दर निर्धारण गरेको छ । व्यवसायीले निर्धारण गरेको भाडा दर अनुसार दिक्तेल–हलेसी ४ सय, दिक्तेल–जयरामघाट ६ सय , दिक्तेल–खार्मी ३ सय २०, दिक्तेल–पाथेका २ सय ७५, दिक्तेल–पञ्चमी ५ सय ५० र दिक्तेल–मात्तिमको भाडा ३ सय ३० रुपैंयाँ कायम गरिएको छ ।व्यवसायीले निर्धारण गरेको भाडा दर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ दिइएको छ ।