विद्यार्थी जीवनमा तत्कालीन माओवादीले शुरू गरेको युद्धमा होमिएकी एक योद्धा थिइन्– जानुका पराजुली। शान्ति प्रक्रियापछि उनी केही समय पत्रकारितामा समेत संलग्न भइन्। विगतमा समाज परिर्वतन र समृद्धिका लागि युद्धमा होमिएकी पराजुली अहिले विगतको सपना पूरा गर्ने थलोमा छिन्। सिन्धुपाल्चोकको पहिलो नगरपालिकाकी उपमेयर रहेकी उनीसँग नेपाल समाचारपत्रकर्मी नानीराम नेपालले गरेको कुराकानी ः
तपार्इंले उपमेयरको जिम्मेवारी सम्हालेको डेढ वर्ष भएको छ कस्तो र≈यो अनुभव ?
स्थानीय तह निर्वाचन भएको १६ महिना बितिरहँदा जनताका आशा, अपेक्षा पूरा गर्ने सवालमा सोचेभन्दा राम्रो काम गर्न सकियो जस्तो लाग्छ। संघीयताको अभ्यास गर्ने पहिलो जनप्रतिनिधि हुनुका नाताले हामीसँग अवसर र चुनौती उत्तिकै छन्। यस नगरपालिकाको उपमेयरका रूपमा पदभार सम्हालिरहँदा मैले संघीय गणतन्त्र नेपालको पहिलो स्थानीय सरकारको जग बसाल्ने अवसरका रूपमा लिएकी छु। पहिलो वर्ष ऐन, कार्यविधि थिएन, कानुन अभाव थियो। र पनि जनअपेक्षाअनुसार काम गर्न सफल भइयो। अनुभव पनि थिएन, पहिलो वर्ष केही अलमल पनि भयो, तर अब पाठ सिकिएको छ, यसवर्ष सेवाप्रवाहमा पहिलो वर्षभन्दा राम्रो हुन्छ।
यसबीचमा जनताले अनुभूत गर्ने काम के छन् ?
नगरवासीले प्रत्यक्ष अनुभूति गर्ने गरी विकासको शुरूआत भइसकेको छ। सिंहदरबारको नीति हुबहु कार्यान्वयन गर्नुपर्ने अवस्था अन्त्य भएर जनताकै इच्छा, चाहना र अपेक्षाअनुसारका नीति बनाएर हामी त्यसको प्रभावकारी कार्यान्वयनको चरणमा छौं। लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन भएपछिको अवस्थामा जनताका अपेक्षा धेरै थिए। हामीले ५ वर्षे रणनीतिक योजना बनायौं र काम अघि बढायौं। हामीले दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाएर काम शुरू गरेका थियौं। ५ वर्षभित्र नगरका सबै वडा कार्यालय जोड्ने सडक कालोपत्रे गर्ने योजनाअनुसार चौतारा–ठूलोसिरुवारी ९कुण्डला० सडक कालोपत्रे गर्ने काम अघि बढेको छ। यसवर्ष वडा नम्बर ९ र १४ को सडक कालोपत्रे गर्दैछौं। खानेपानी समस्यालाई मध्यनजर गर्दै हामीले साँगाचोकमा ३१ लाख बजेट विनियोजन गरी सुख्खा डाँडामा नै डिपबोरिङ प्रविधिबाट पानी निकालेका छौं। २ सय ४ मिटर गहिराईबाट पानी निकालेर साँगाचोकका झन्डै ९ सय घरपरिवारलाई लाभान्वित बनाएका छौं। आधारभूत शिक्षालाई व्यवस्थित, वैज्ञानिक बनाउनका लागि पूर्वप्राथमिक तहमा नर्सरी, केजी र यूकेजीको कक्षा सञ्चालनको व्यवस्था मिलाएर अंग्रेजी माध्यमबाट पठनपाठनको शुरूआत पनि गरेका छौं। नगरपालिकाको एउटा विद्यालयलाई नमुना विद्यालय बनाउने योजनामा छौं।
चौतारा बजारको सडक नाजुक भइरहेको अवस्थामा तपाईं सबै वडाका सडक कालोपत्रे गर्ने भनिरहनुभएको छ ?
चौतारा बजारको सडक स्तरोन्नतिको सवालमा हामी पनि चुप लागेर टुलुटुलु हेरिरहेका छैनौं। खानेपानीको काम र कालोपत्रे गर्ने कुरा आपसमा अन्तरविरोधी भइदियो। खानेपानीको पाइप वितरणमा ढिलाइ भयो, त्यसपछि बर्खा पनि लागिहाल्यो। यी दुई कारणले चौतारा बजारको सडक कालोपत्रे हुन सकेन कि भन्ने मेरो बुझाइ हो। कालोपत्रे गर्ने काममा ढिलाइ भएपछि हामीले ग्राबेल बिच्छ्याएर सहज बनाएका छौं। ठेकेदारले समयमा काम गर्दैनन् भन्ने ‘टे«न्ड’ त देशव्यापी छ, तर यो सडकका हकमा खानेपानीको पाइप वितरणमा ढिलाइ र बर्खाले गर्दा उहाँहरूले भ्याउनुभएन। हामी निरन्तर ताकेता गरिरहेकै छौं।
जनमानसमा ‘कर आतंक’ छ। यसबारे नगरवासीलाई प्रष्ट्याउनु पर्दैन ?
करका सन्दर्भमा हल्ला अलि बढी नै भइराखेको छ। हामी हल्लाका पछि दौडनुहुँदैन। चौतारा साँगाचोकगढी नगरपालिकाले कर बढाएकै छैन। कर नलिई त स्थानीय सरकार सञ्चालन गर्न नै सकिन्न। कर नलिए त स्थानीय सरकार सञ्चालनमै सम्स्या हुन्छ, र हामीले देखेको समृद्धिको सपना पूरा गर्न पनि सकिन्न। कर तिर्नु नागरिकको दायित्व हो, नागरिकलाई सर्वसुलभ सेवा दिनु हाम्रो दायित्व हो। सम्पत्ति कर विगतको भन्दा केही बढेको छ, तर नागरिकका क्षमता आंकलन गरेर मात्रै हामीले कर निर्धारण गरेका हौं। म नगरवासी नागरिकलाई भन्न चाहन्छु– ‘करका सन्दर्भमा हल्लाका पछि नलाग्नुस्। करबारे बाहिर हल्लामा आएजस्तो हैन, वास्तविकता बुझ्नतर्फ लाग्नुहोस्।’
भूकम्पपछिको पुनर्निर्माण कहाँ पुग्यो ?
डेढ वर्षसम्म त पुनर्निर्माणको काम नै अघि बढेन, तर पछिल्लो डेढ वर्ष हामी जननिर्वाचित भएर आइसकेपछिको अवस्थामा पुनर्निर्माणले राम्रै गति लियो। अहिलेसम्म यस नगरका ८० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भइसकेको छ। जिल्लाका अन्य गाउँ नगरसँग तुलना नै गर्दा पनि हामी अगाडि छौं। स्थानीय सरकारलाई नै पुनर्निर्माणको सम्पूर्ण अधिकार दिइएको भए मलाई लाग्छ हामीले पुनर्निर्माणको काम सम्पन्न नै गरिसक्थ्यौं। भूकम्पपीडित जनतालाई पनि यति धेरै सास्ती र हैरानी हुने थिएन।
निर्माण सम्पन्न भएका घर पास नै भएनन् भन्ने सुनिन्छ नि ?
असार मसान्तसम्मका लागि कच्ची घर बनाउनका लागि हामीले नक्सापास गर्नु नपर्ने व्यवस्था मिलाएका हौं। त्यो छुट सबैका लागि थिएन, सधैंका लागि पनि थिएन। जसले त्यो अवधिमा ढुंगामाटाका कच्ची घर बनाउनुभयो अभिलेखीकरण गर्नुस् भनेका हौं। न्यूनतम शुल्क लिएर अभिलेखीकरण गरिरहेका छौं। गाउँ र बजारलाई हेर्ने हाम्रो आँखा फरक नै छ। सम्पत्ति करका सन्दर्भमा पनि सोहीअनुसार सडकलाई आधार मानेर मूल्यांकन गरी हिजो मालपोत कार्यालयमा बुझाउनुपर्नेभन्दा पनि कम कर निर्धारण गरेका छौं।
तपाईं न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ। के छ न्याय सम्पादनको अवस्था ?
पहिला त्यस्तो अनुभव त थिएन, तर म कानुनकै विद्यार्थी भएका हुनाले स्थानीय तहमा सहजरूपमा न्याय सम्पादन गर्न सकें। अहिलेसम्मको डाटा हेर्नुहुन्छ भने हामीकहाँ ९१ विवाद दर्ता भएका छन्। जसमध्ये ७६ वटा विवादमा न्यायिक समितिले मेलमिलाप गराएको छ। मेलमिलाप गर्न नसकिएका ८ वटा विवादमा हामीले निर्णय नै गरी टुंग्याएका छौं। हाम्रो क्षेत्राधिकारभित्र नपर्ने ४ मुद्दा अदालतमा पठायौं। अब ३ वटा मात्र बाँकी छन्। स्थानीय सरकारलाई नै न्यायिक अधिकार दिइएपछि पक्कै पनि न्यायमा जनसाधारणको पहुँच बढिरहेको छ।
कस्ता विवाद आउँदा रहेछन् समितिमा ?
विशेष गरी सम्पत्ति र साँध सीमानाका विवाद नै बढी छन्। जन्मदर्ता, विवाह दर्ता नगरिदिएकोदेखि बलेसीको पानी अर्काको जग्गामा झारिदिएको जस्ता विवाद पनि दर्ता हुन आएका छन्। महिला हिंसाका सामान्य प्रकृतिका विवाद पनि आइरहेका छन्। मिलापत्र गराउन नसक्ने खालका ठूला घटना हामी लिँदैनौं। जबरजस्ती मिलापत्र गराउनु पनि त भएन। चिनजानकै र आफ्नै गाउँठाउँको मान्छेसँग कुरा गर्न उहाँहरूले सहज महसुस गर्नुभएको छ।
समितिले समाधान गरेको स्मरणीय कुनै घटना छ ?
बतासेको एउटा केस म जीवनमा सायद कहिल्यै भुल्नेछैन। एक किशोरीको १५ वर्षमै मागी विवाह भएछ, १६ वर्षमा बच्चा जन्मिएछ। अनि १७ वर्षमा श्रीमान्सँग सम्बन्धविच्छेद गराइदिनुप¥यो भन्दै आउनुभयो। दम्पतीलाई नै बोलाएर सम्झाई बुझाई ग¥यौं। ६ महिनासम्म उहाँहरूलाई पटक–पटक सम्झाई बुझाई गरिर≈यौं। सम्बन्धविच्छेदकै अवस्थामा पुगिसकेको उहाँहरूको सम्बन्ध पुनःस्थापित भएको छ।
समृद्ध चौसागढी निर्माणका लागि अबको योजना के छ ?
सपना र कल्पना वास्तविकताभन्दा फरक हुँदोरहेछ। अबको विकास जनताको जीवनसँग प्रत्यक्ष जोडिनेखालको हुनुपर्दछ। सडक खन्नुमात्र विकास हैन, त्यही सडकको उपयोग गरी स्थानीयका आयस्तर उकासिनुपर्दछ। पूर्वाधार विकाससँगै महिला उद्यम र युवा स्वरोजगारका योजना छन्। आशा गरौं अबको साढे ३ वर्षपछि सडकमा नगरवासीको सहज पहुँच हुनेछ। खानेपानीको अभावबाट नगरवासी मुक्त हुनेछन्। यो नगरपालिका एउटा पर्यटकीय नगरीका रूपमा विकास हुँदै जानेछ। इच्छाशक्ति भयो भने धेरै गर्न सकिन्छ, मसँग आत्मविश्वास छ।
प्रतिक्रिया