डिजिटल प्रविधिमा सुधार गर्दै एनआरएनए बेलायत


सञ्जयभक्त कँडेल, लन्डन
बेलायती प्रवासी नेपालीको एनआरएनमा सहज पहँुच अनि संस्थाकै काम कारबाहीलाई व्यवस्थित बनाउन भन्दै एनआरएनए बेलायतले महत्वाकांक्षी, चुनौतीपूर्ण तर उपलब्धिमूलक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

सदश्यता आवेदन, उम्मेदवारी दर्ता प्रक्रियालगायत संस्थाका महत्वपूर्ण अपडेट एनआरएनए, बेलायतले अनलाइनबाट गर्ने भएको हो । अनलाइन प्रविधिलाई प्रयोग गर्न नसक्नेको हकमा भने एनआरएनए बेलायतले पुरानै कागजी फारमबाट सुविधा निरन्तरता गर्नेछ ।

दुई लाखको हाराहारीमा नेपाली बेलायतमा बस्छन् भन्ने अनुमान गरिए पनि यकिन तथ्याङ्कमा नेपाली दूताबास र एनआरएनए बेलायत दुवै अनभिज्ञ छन । टिठ लाग्दो कुरा बेलायत सरकार पनि बेलायतमा बसोबास गर्ने नेपालीको जनसंख्याको बारेमा बेखबर छ । सूचना प्रविधिलाई आधुनिकीकरण गर्ने बेलायती एनआरएनएको घोषणासँगै नेपालीको अनुमानित संख्या ढिलो चाँडो बाहिर आउने झिनो आशा पलाएको छ ।
बेलायतमा बसोबास गरे पनि धेरै नेपालीको इन्टरनेटमा पहुँच छैन र फेरि एनआरएनए बेलायत पनि सीमित स्रोत र साधनमा निर्भर छ ।

नेपालीहरूको बाक्लो बसोबास रहेको दक्षिण पूर्वी लण्डनको प्लमस्टेड अर्थात् गोर्खा क्लबमा एनआरएनए बेलायतका उपमहासचिव विनय अधिकारीले पत्रकार सम्मेलन गर्दै एनआरएनए बेलायतका लागि आफ्नो डिजिटल प्रविधिको औपचारिक उद्घाटन गरेका हुन् ।
एनआरएनए बलायत अनलाइन पोर्टल नाम दिइएको उक्त प्रविधिले कसरी काम गर्छ भन्ने पत्रकारको जिज्ञासालाई उपमहासचिव अधिकारीले व्याख्या गरेको थिए । बेलायतबाट प्रतिनिधित्व गर्ने मिडिया र मिडियाकर्मीको उपस्थिति रहेको उक्त कार्यक्रममा एनआरएनए बेलायतको सदस्य राजन खकुराल, प्रवक्ता रमेश सराङ्कोटी, उपाध्यक्षद्वय शेर सुनार र ललित न्यौपाने, अध्यक्ष योगकुमार फगामीलगायतको उपस्थिति रहेको थियो ।