विपद् व्यवस्थापन सम्बन्धि अभ्यास शुभारम्भ


काठमाडौ (नेस) । नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको युएस प्यासिफिक कमाण्डाको संयुक्त आयोजनामा बिपद ब्यवस्थापन अभ्यासको प्रधानसेनापति पूर्णचन्द्र थापाले शुभारम्भ गर्नु भएको छ ।

मंगलबारबाट शुरु भएको संयुक्त अभ्यासले प्राकृतिक विपदमा छोटो समयभित्र गरिने उद्धार कार्य तथा जनधनको न्युनतम क्षतीको लागि अपनाईने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यास गरी क्षमता अभिबृद्धि गर्न मद्दत पु¥याउने नेपाली सेनाले दावी गरेको छ।

साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैह्रसरकारी संस्थाहरुबीच एकैसाथ भूकम्प लगायत अन्य विपद् व्यवस्थापन कार्य गर्न सक्ने क्षमताको अभिबृद्धि गर्नु अभ्यासको उद्देश्य रहेको पनि सेनाले जनाएको छ । अभ्यासको दौरान खोज र उद्धारको प्रयास तथा घाईतेहरुको उपचार प्रक्रिया सम्बन्धी काल्पनिक परिस्थिति अनुसारको अभ्यासहरु उपत्यका पृतना हेडक्वाटर राजदरबरभित्र संचालन हुने भएको छ ।

अमेरिका, बंगलादेश, बेलायत, बेल्जियम, चीन, क्यानडा, डेनमार्क, ईजरायल, भारत, माल्दिभ्स, फिलिपिन्स, सिंगापुर र श्रीलंकाका गरी ६४ प्रतिनिधिहरुको सहभागिता रहेको छ । अभ्यास असोज १२ गतेसम्म संचालन हुने भएको छ । उक्त अभ्यासमा नेपाल सरकारका बिभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकायहरु, विभाग, रेडक्रस लगायत विपद् ब्यवस्थापनमा कार्यरत संघ, संस्थाहरुको समेत गरि २ सय३८ जनाको सहभागिता रहेको छ । विपद व्यबस्थापन सम्बन्धि यस्तो अभ्यास नेपालमा सन् २०११ बाट नेपाली सेनाले गर्दै आएको छ ।